प्रभु साहलाई विष्णु रिजालले सोधे –काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ?
प्रकाशित २०७६ मंसिर ५ बिहिबार
518
Shares
काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिमण्डल पुनर्गठन गरेपछि प्रशंसा र आलोचना उत्तिकै भएको छ । कार्यसम्पादनलाई मापदण्ड बनाएर मन्त्री हटाउने आधार तय गरेको भनिए पनि त्यसो हुन नसकेको आरोप नेकपाभित्रैका नेताहरुले लगाउन थालेका छन् ।
यसै विषयलाई लिएर पूर्व मन्त्री प्रभु साहले सामाजिक संजालबाट आफ्नो रिस पोखेका छन् । उनले लेखेका छन्, ‘कार्यसम्पादनको आधारमा मंत्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्तत गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउदा वा राख्दा सामान्य कम्युनिस्ट मूल्य मान्यता पनि लागू भएको देखीएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एक चोटी लज्जित भएकाछौ ।’
साहको भनाईलाई कटाक्ष गर्दै नेकपा केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले लाज लागेको प्रतिक्रिया दिएका छन् ।
उनले पनि सामाजिक संजालमै जवाफ दिँदै भनेका छन्, ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहॉसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ? पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ । अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’
पार्टीभित्रको असन्तुष्टिले कतै नेताहरुलाई अनुशासनले गतिलो पाठ सिकाउने त हैन ? कतै लहरो तान्दा पहरो थर्किने त हैन ?