प्रधानमन्त्री ओलीलाई राजिनामा दिएर उपचारमा जान कांग्रेस नेता रायमाझीको सुझाव
रायमाझीले सोधे,'ओली पछि नेकपामा प्रधानमन्त्री हुन कोहि योग्य छैन?'
प्रकाशित २०७६ मंसिर ४ बुधबार
712
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता उमेशजंग रायमाझीले प्रधानमन्त्री केपी ओलीलाई मन्त्रिमण्डल हेरफेर नभइ प्रधानमन्त्रीबाटै राजिनामा दिन सुझाव दिएका छन्।
मन्त्रिमण्डलमा हेरफेर गर्ने प्रधानमन्त्री ओलीको अन्तिम तयारीको समाचार सार्वजनिक भइरहेका बेला कांग्रेस नेता रायमाझीले सरकार असफल प्राय भइसकेका बेला मन्त्रिमण्डल हेरफेरले मात्र केहि नहुने बताए।
दुई तिहाइको सरकारको नेतृत्व गरेर आएका प्रधानमन्त्री ओलीले केहि गर्लान भन्ने आश अब मरिसकेको जनाउँदै रायमाजीले मन्त्री परिषद्को हेरफेर भन्दा पनि प्रधानमन्त्रीबाटै राजिनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।
राजनीतिक कारणले मात्र नभइ प्रधानमन्त्रीको स्वास्थ्य नै राजिनामाको लागि पर्याप्त आधार भएको रायमाझीले बताए। कलेजो प्रत्यारोपण गरेका कांग्रेस नेता रायमाझीले राजिनामा दिएर तनावरहित वातावरणमा उपचार गराउन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन्। प्रधानमन्त्री केहि समयदेखि मृगौला रोगका कारण पिडित हुँदै आएका छन्। उपनिर्वाचन पछि प्रधानमन्त्री ओली उपचारका लागि िदेश जाने तयारीमा छन्।
रायमाझीले प्रधानमन्त्री राजिनामा नदिइ पदमै रहिरहँदा उपचारका क्रममा विदेश जाँदा मन्त्रिमण्डलको वैठक नै बस्न नसक्ने अवस्था पनि रायमाझीले औंल्याएका छन्। उनले कि नेकपामा ओली पछाडी प्रधानमन्त्री हुन योग्य मानिस नै छैनन् भनेर प्रश्न समेत गरेका छन्।