काठमाडौं । सोमबार हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीबीच राख्ने र हटाउने मन्त्रीको बारेमा सहमति हुन नसक्दा रोकिएको छ । अध्यक्ष प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने पक्षमा छन् भने ओली छैनन् । ओलीले थापालाई आफूबिरुद्ध प्रयोग गरेको सूचना पाएकाले पनि प्रचण्ड उनलाई राख्ने पक्षमा छैनन् । बालुवाटारमा ब्रान्डेड ह्वीस्की पिलाएर रातिसम्म राखी आफ्ना बिरुद्ध गृहमन्त्री थापालाई उकासेको सूचना पाएपछि प्रचण्ड उनको निरन्तरताका पक्षमा छैनन् ।
प्रचण्डको वुहारी मोह
प्रधानमन्त्री ओली खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको कार्यक्षमता नदेखिएकाले उनलाई हटाउने पक्षमा छन् । तर प्रचण्ड बुहारी विनालाई कुनै पनि हालतमा हटाउने पक्षमा नदेखिएकाले मन्त्रिमण्डल पुनर्गठन रोकिन पुगेको प्रधानमन्त्री कार्यालयको उच्चस्रोतले बताएको छ । खानेपानी मन्त्री मगरका कारण मेलम्ची आयोजनाको पानी काठमाडौंबासीको घर घरमा आउन नसकेका कारण सरकार जनस्तरमा आलोचित छ । मन्त्री मगरको मन्त्रालय अन्तर्गत भ्रष्टाचार बढेकाले पनि उनलाई हटाउने पक्षमा प्रधानमन्त्री ओली छन् । तर प्रचण्ड बुहारी हटाउने पक्षमा देखिएका छैनन् ।
चिनी काण्डले यादव धरापमा
प्रधानमन्त्री ओली उद्योग मन्त्री मातृका यादवलाई पनि हटाउने पक्षमा छन् । तर प्रचण्ड उनलाई हटाउने पक्षमा देखिएका छैनन् । औद्योगिक क्षेत्र ब्यवस्थापन लि को अध्यक्षमा प्रधानमन्त्री ओलीले मन्त्रालयको प्रस्तावविना नै नियुक्त गरेका अध्यक्ष नन्दकिशोर बस्नेतलाई नियुक्ति दिन बिलम्ब गरेकोमा मन्त्री यादवसँग उनी रुष्ट छन् । चिनीमाफिया शशिकान्त अग्रवालले आर्थिक चलखेल गरी चिनी आयातमा भन्सार दर बढाउने काम प्रधानमन्त्रीले ओलीले गरेको पोल मन्त्री मातृकाले खोलिदिएका कारण पनि ओली आक्रोसित छन् । नेपाली बजारमा प्रतिकिलो ६० रुपैयाँमा पाइने चिनी भन्सार दर बढाएपछि ८५ रुपैयाँ प्रतिकिलो तिर्न उपभोक्ता विवश हुँदैआएका छन् । अग्रवालसँग लाभ लिएको पोल मातृकाले खोलेका कारण प्रधानमन्त्री ओली उनलाई त मन्त्रिपरिषदमा कुनै पनि मूल्यमा हटाउने पक्षमा छन् ।
कार्यक्षमतामा प्रश्न
वनमन्त्री शक्तिबहादुर बस्नेत र कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले पनि कार्यक्षमता प्रदर्शन गर्न नसकेको आरोप लाग्ने गरेको छ । कृषि मन्त्रालयमा राज्यमन्त्री हावी हुँदैआएकी कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले पनि कार्यक्षमता प्रदर्शन गर्न नसकेको आरोप लाग्ने गरेको छ । कृषि मन्त्रालयमा राज्यमन्त्री हावी हुँदैआएकी छन् । उनले प्रधानमन्त्री कृषि आयोजनाबाट शितभण्डारको अनुदान बितरणमा कमिसन दिनेलाई दिन दबाब दिएकोदेखि विभागहरुका कर्मचारी सरुवामा समेत घुस माग्ने गरेको आरोप लाग्दैआएको छ ।
पुन र पोख्रेल भाग्यमानी
पूर्वमाओवादी केन्द्रका तर्फबाट भएका मन्त्रीमध्ये ऊर्जामन्त्री बर्षमान पुन र गिरिराजमणि पोखरेलले मात्र निरन्तरन्ता पाउने चर्चा छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको कोटाबाट अरु कोही नभएकाले पोखरेलले निरन्तरता पाउने भएका छन् । ऊर्जामन्त्री पुनलाई भने प्रचण्डकै जोडमा निरन्तरता दिन लागिएको छ।
पूर्वएमालेको कोटाबाट हटाउने मन्त्रीहरुमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, भूमिब्यवस्था मन्त्री पदमा अर्याल,भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका मन्त्री थममाया थापाको नाम चर्चामा छ।
रोजगार विवादमा विष्ट
बिष्टले १५ महिनासम्म विनाकारण मलेसियाको रोजगारी बन्द गर्दा देशलाई बार्षिक करिब ३० अर्ब भन्दा बढी रेमिट्यान्स नोक्सान हुन पुगेको छ । मलेसियाले छनोट गरेका स्वास्थ्य संस्थादेखि भिसा प्रक्रिया र अध्यागमनको काम गर्नेहरुको सिन्डिकेट हटाउने भनेर उनले रोके पनि अन्ततः उनी असफल भए । १५ महिनासम्म रोकेर तिनै संस्थाबाट मलेसिया कामदार पठाउन स्वीकृति दिन मन्त्री बिष्ट बाध्य भए । मलेसिया कामदार पठाउने ती संस्थाको ब्यापार आफ्ना मानिसलाई दिनका लागि उनले कामदार नै पठाउन बन्द गरेकाले प्रधानमन्त्री ओली उनीसँग रुष्ट छन् ।
महासेठ घुस काण्डमा आरोपित
महासेठले सडक आयोजनाहरुमा सरुवादेखि ठेक्का दिंदा घुस लिएका सूचना प्रधानमन्त्रीकोमा पुगेकाले उनको विकल्प खोजी भएको बताइन्छ ।
थापाले देखाउन सकिनन् काम
थममाया थापाले महिला मन्त्रालयमा केही क्षमता नै देखाउन नसकेपछि उनी पुनर्गठनमा बाहिरिने भएकी हुन् । राष्ट्रपति विद्या भण्डारीको कोटामा उनी मन्त्री भएकी थिइन्।
पण्डितको नौटंकी पर्दाफास
पूर्व मुख्यसचिव लीलामणि पौडेलले डीभी पीआर लिने कर्मचारीको बिषयमा सार्वजनिक रुपमा बहसमा ल्याएको कुरा मन्त्री पण्डितले अघिल्लो कार्यकालमा उपलब्धीका रुपमा देखाए । तर पछिल्लो पटक मन्त्री भएपछि उनको बारेमा पनि विभिन्न कोणबाट प्रश्न उठेका छन् । साइकलमा चुनाव प्रचार गरेर देशविदेशका नागरिकको सहानुभूति र सहयोग पाएर डा. शेखर कोइरालालाई पराजीत गरी चुनाव जितेका पण्डितको श्रीमती विमला महतको खातामा मन्त्री हुनासाथ ५५ लाख देखिएपछि उनको नौटंकी पर्दाफास भएको थियो । उनको मन्त्रालयमा समायोजनदेखि सरुवाका क्रममा मातहतका कर्मचारीले आर्थिक चलखेल गरेका चर्चाहरु पनि यसबीच ब्यापक रुपमा भए ।
पद्माको असुली उदाङ्गियो
भूमिब्यवस्था मन्त्री पद्मा अर्याल त कर्मचारी सरुवादेखि गाडी दुरुपयोगमा मुछिएकी छन् । नेपाली कांग्रेसका गोपालमान श्रेष्ठसँग चुनाव लड्दा ऋण लागेकाले सहयोग गर्नुपर्यो भन्दै उनले फन्ड संकलनलाई नै तेजीका साथ अगाडि बढाएकी छन् । यसअघिका सचिव गोपी मैनालीले उनको असुलीमा साथ नदिएपछि बल्लतल्ल खान खुवाउन माहिर सचिव सूर्य गौतमलाई लगेकी छन् । गौतमले लोकसेवा आयोगबाटै श्रीमतीलाई अधिकृत पास गराउन सेटिङ गरेको समाचार नै सार्वजनिक भइसकेको छ ।
गोकुल अझै प्रिय
प्रधानमन्त्री ओलीले जनस्तरमा सबैभन्दा बदनाम संचार मन्त्री गोकुल बाँस्कोटालाई यथावत राख्ने भएका छन् । उनलाई अझ आकर्षक मन्त्रालय पर्यटन वा भौतिक पूर्वाधारमा लाने चर्चा छ ।
योगेशको सरुवा हुनसक्ने
त्यसो त २ महिनाअघि पर्यटन मन्त्री भएका र पदमा बहाल भएपछि एकपछि अर्को विवादमा परेका योगेश भट्टराईको पनि पोर्टफोलियो फेरबदल हुने स्रोत बताउँछ ।
कानुन मन्त्री भानभुक्त ढकाल, उपप्रम समेत रहेका रक्षामन्त्री इश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा निरन्तरता पाउने बताइएको छ ।