arrow

सरकारका कारण लोकतन्त्र धरापमा : गोपालमान श्रेष्ठ

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
gopalman_shrestha.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान् श्रेष्ठले दुई तिहाइको कम्युनिष्ट सरकारका कारण लोकतन्त्र नै धरापमा पर्न लागेको बताएका छन् । अघिल्लो चुनाव कांग्रेसले हार्दा मुलुकले हारेको भन्दै उनले नेकपा सरकारका कारण लोकतन्त्र नै धरापमा परेको बताएका आरोप लगाएका हुन् ।

कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–८ मा आयोजित घरदैलोका क्रममा नेता श्रेष्ठले यो सरकारका पछिल्ला गतिविधि हेर्दा मुलुक हारेको र लोकतन्त्र धरापमा परेको प्रमाणित हुँदै गएको उनले जिकिर गरे ।  निकै ठूलो बलिदानी गरेर ल्याएको लोकतन्त्र रक्षा गर्नकै लागि भए पनि यो उपनिर्वाचन जित्न जरुरी रहेको उनले बताए । ‘सरकारले प्रेस, मानवअधिकार तथा न्यायालयमा निरन्तर आक्रमण गरिएको छ’, उनले भने, ‘सरकार निरङ्कुसतर्फ लम्किन खोजेका ेछ । त्यसलाई ठोगान लगाउन पनि कांग्रेसले जित्न जरुरी छ ।’

सरकारले ल्याएको प्रेस विरोधी विधेयकको कांग्रेसले कडा रुपमा विरोध गरेपछि सुधार भएको भन्दै नेता श्रेष्ठले पत्रकारलाई नडराउन पनि आग्रह गरे । यो चुनावमा सवैलाई सक्रिय भएर लाग्न आग्रह गर्दै कांग्रेस एकजुट भएमा चुनाव सहजै जित्न सकिने श्रेष्ठले बताए ।‘अघिल्लो चुनावमा हामी हारेर निराश बनेका छैनौं’, श्रेष्ठले भने, ‘हामी अझै उत्साहका साथ संगठन मजबुद बनाउन लागिपरेका छौं ।’ विगतमा भएका कमीकमजोरीलाई मनन गर्दै कांग्रेस एक जुट भएर लाग्न जरुरी रहेको नेता श्रेष्ठले बताए ।

पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले यो मुलुकको रक्षा कांग्रेसबाहेक अरुले गर्न नसक्ने जिकिर गरे । पोखरा–८ का चुनावी कमाण्डरसमेत रहेको रानाभाटले सरकारको खलत रवैयाले जनता वाक्क दिक्क भएको बताए । उनले भने, ‘घरदैलोका क्रममा जनता निकै निराश भएको पायौं । सरकारका कारण राजनीतिक दलहरूप्रचि जनताको वितृष्णा पैदा भएको छ ।’

घरदैलो अभियान पार्टीका इकाइ सभापति सुवास सिग्देलको नेतृत्वमा भएको थियो । आइतबार पोखरा–८ का सृजनाचोक, सिमलचौर, आलुमाइलाचोकमा घरदैलो अभियान भएको थियो ।

घरदैलो अभियान तीव्र
कास्की कांग्रेसले घरदैलो अभियान तीब्र बनाएको छ । कास्की क्षेत्र नं. २ का ११ वटौ वडामा मतदाता भेटघाट कार्यक्रम जारी छ । जस अन्तर्गत पोखरा १७ मा पनि आइतबार अभियान जारी रह्यो । यस वडामा केन्द्रीय सदस्य प्रदीप पौडेल, कास्की कांग्रेसका सभापति कृष्ण केसी, वडा इकाइ सभापति देवराज आचार्यसहितको घरदैलो अभियान भएको हो । आइतबार महतगौंडा क्षेत्रका मतदातासंग भेटघाट भएको इकाइ सभापति आचार्यले बताए।

यता, पोखरा–३३ मा आइतबार बिहानैदेखि घरदैलो अभियान शुरु भएको छ । कोणसभा पछि घरदैलो अभियान शुरु भएको हो । अभियानमा उम्मेदवार खेमराज पौडेललगायत कास्कीका नेताहरू सहभागी छन् । उम्मेदवार पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशिर्वाद दिएर अभियान शुरु गरेका हुन् । उम्मेदवार पौडेलले पोखरा–३३ आधाजसो क्षेत्रमा आइतबार घरदैलो सके भने भोलि सोमबार अभियान जारी रहने बताइन्छ । घरदैलोका क्रममा विभिन्न स्थानमा कोणसभा गर्ने कार्यक्रम समेत जारी रहेको कांग्रेसका केन्द्रीय सदस्य एवं सो क्षेत्रका चुनावी कमाण्डर जीवन परियारले जानकारी दिए ।

उनले पोखरा–३३ ठूलो वडा भएकाले आफूले धेरै दिन देखि खटिएर अधिकांश मतदातासंग भेटघाट गरिसकेको र केही मतदातासंग अझै भेट्ने कार्यक्रम रहेको बताए । उनले भने, ‘भेट्घाटका क्रममा जनताका गुनासा धेरै नै पायौं, अब उनीहरूका गुनासालाई पार्टीमा छलफल गरेर संवोधन गर्न तर्फ पनि ध्यान दिन्छौं ।’ उनले कांग्रेसप्रति जनताको विश्वास अझै कायमै रहेको बताए । यता, पोखरा–७ लगायत सबै वडामा चुनावी अभियान जारी छ । सबै वडामा नेता कार्यकर्ता निकै सक्रिय भएर खटिरहेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । पोखरा–७ मा नेता शुक्रराज शर्मा र पोखरा–८ मा तारानाथ रानाचाट १० दिनदेखि निरन्तर रुपमा खटिरहेका छन् ।

पोखरा–७ अन्तर्गत आइतबार घारीपाटन क्षेत्रमा घरदैलो गरिएको छ  । पोखरा–७ का वडा इकाइ सभापति नवीन बरालका अनुसार पोखरा–६ का अधिकांश क्षेत्रका मतदाता भेटघाट कार्यक्रम सकिएको छ । अब पार्टीको धारणा र एजेन्डा लिएर पुनः एक पटक मतदातालाई भेट्ने कार्यक्रम रहेको उनले बताए । सभापति बरालले कांग्रेस जनतामाझ मुग्दा मतदाता सरकारप्रति निकै आक्रोशित भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ