काठमाडौं। समाजवादी पार्टीमा तत्काल सरकार नछाड्ने लाइन हावी देखिएको छ। ३ दिन देखि जारी केन्द्रीय समितिको बैठकमा अधिकाशं केन्द्रीय सदस्यहरूले पार्टी तत्काल सरकारबाट बाहिरिएर आन्दोलनमा जान दबाब दिए पनि पार्टीका कार्यकारिणी समितिको अध्यक्ष उपेन्द्र यादव तत्काल सरकार नछाड्ने लाइनमा अडिग छन्।
यद्यपि पार्टीले तत्काल सरकार छाड्ने या नछाड्ने विषयमा औपचारिक निर्णय भने गरेको छैन। शनिबार साँझ केन्द्रीय समितिको बैठक टुंगिने र उक्त बैठकबाट औपचारिक निर्णय हुने पार्टीका नेताहरु बताउछन्।
स्रोतका अनसार दुई वटा अध्यक्षमध्ये बाबुराम भट्टराई तत्काल सरकार छाड्ने लाइनमा छन भने अर्का अध्यक्ष यादव तत्काल सरकार नछाड्ने लाइनमा छन्। पार्टीको बहुमत धारणा तत्काल सरकार छाड्ने लाइनमा भए पनि पार्टीले यस्तो निर्णय गर्ने सम्भावना कम रहेको पार्टीका एक पदाधिकारी बताउछन्।
पूर्व नयाँ शक्ति पार्टीका नेताहरु तत्काल सरकार छाड्ने लाइनमा उभिएका छन्। तत्कालिन नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच एकीकरण हुँदा पार्टी एकीकरण हुने वित्तिकै सरकार छाड्ने सहमति भएको बताउदै उक्त सहमति कार्यान्वयन हुनु पर्ने अडान पूर्व नयाँ शक्तिका नेताहरुको छ। यो कुरा उनीले बैठकमा पनि उठाएका थिए। तर यस भनाइको सुनवाइ हुने सम्भावना कम रहेको पार्टीका नेताहरु बताउछन्।
बिहीबार अध्यक्ष भट्टराइले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारमा पार्टीको संलग्नताबारेमा पुनसमिक्षा गर्नु पर्ने धारणा राखेका थिए। उनले सरकारको कार्यशैलीको कडा आलोचना गरेका थिए। विहीबार र शुक्रबारको केन्द्रीय समितिको बैठकमा बोल्दै अधिकांश केन्द्रीय सदस्यहरुले दुई बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै उक्त सम्झौता कार्यान्वयनकोलागि सरकार छाडी सडक संघर्षबाट दबाब दिनु पर्ने धारणा राखेका थिए।
तर शुक्रबार साँझ केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले दुई बुँदै सम्झौता कार्यान्वनयकोलागि हाल सरकार र सदनबाट दबाब दिनु पर्ने बताएका थिए। उनले भने,‘दुई बुँदे सम्झौता कार्यान्वयकोलागि हाल सरकार र सदनबाट दबाब दिन्छौ। यसबाट पनि सम्झौता कार्यान्वयन नभए सरकार छाडेर सडक संघर्षमा जाने छौ’ स्रोतले भन्यो।
दुई बुँदै सम्झौता कार्यान्वयनकोलागि कहिलेसम्म पर्खने, यसबारेमा भने यादवले केही खुलाएनन्। मधेस आन्दोलन, जनआन्दोलन, जनविद्रोहबाट प्राप्त भएको संघीयता, गणतन्त्र, धर्म निरपेक्ष, मानव अधिकारको उपलब्धीलाई संस्थागत गर्न अहिलेको आवश्यकता रहेको भन्दै यस्तो बेला पार्टी सरकारबाट बाहिरिन उपयुक्त नहुने धारणा उनले राखेका थिए। स्रोतका अनुसार उनले भने, 'अहिले संघीयता र व्यवस्था नै खतरामा परेको छ। यस्तो बेला हामी सरकारबाट बाहिरियौ भने यो व्यवस्था नै नरहन सक्छ। त्यसैले अहिले हाम्रो पहिलो प्राथमकिता हामीले पाएको उपलब्धीलाई संस्थागत गर्नु हो।’
स्रोतका अनुसार यादव सुरु देखि नै पार्टी तत्काल सरकारबाट बाहिरिन नहुने अडानमा छन्। पार्टीका अध्यक्ष भट्टराई र अधिकांश केन्द्रीय सदस्यहरुको दबाब पछि उनले सरकार छाड्ने-नछाड्ने विषयलाई केन्द्रीय समितिको बैठकले टुंग्याउछ भन्दै बैठकसम्म यस मुद्दालाई लम्ब्याएका थिए। केन्द्रीय समितिको बैठकको पहिलो एजेण्डा पनि यस विषयलाई बनाइएको थियो। तर केन्द्रीय समितिको बैठकमा भने यादवले तत्काल पार्टी सरकारबाट नबाहिरिने अडानलाई प्रष्ट्रसँग राखे।
उनको यस अडानलाई परिवर्तन गराउन भट्टराई पक्षधर नेताहरुले सकेनन्, जसबाट पार्टी तत्काल सरकारबाट बाहिरिने स्थिति बनेन, स्रोतले भन्यो। समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिए समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण प्रक्रिया तत्कालकोलागि स्थगित हुने छ। राजपाका नेताहरु समाजवादी पार्टीको निर्णय पर्खेर बसेका छन्। राजपाका नेताहरुले यसअघि नै समाजवादी पार्टी तत्काल सरकारबाट नबाहिरिए समाजवादी पार्टी र राजपाबीचको एकीकरण प्रक्रिया स्थगित हुने बताउदै आएका छन्। समाजवादी पार्टीसँग पार्टी एकीकरण राजपाका नेताहरुले आफ्नो महाधिवेशनको तिथी समेत स्थगन गरेका छन्।