पूर्वराज्यमन्त्रीसहितका कांग्रेस नेता मकालु अध्यक्षमा पराजुलीलाई जिताउन मैदानमा
उपनिर्वाचनका लागि मनोनयन दर्ता
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
524
Shares
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ ।
आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिनुभएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिए।
मकालु बजार नुम यतिखेर सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले बिहानैदेखि खचाखच भएको छ । नेकपाका नेता तथा सांसद राजेन्द्रप्रसाद गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, तुलसीप्रसाद न्यौपाने, नेकपाका नेता हेमराज घिमिरे, नवीन कार्कीलगायत सयौँको सङ्ख्यामा उपस्थित भएर मनोनयनपछि कोणसभा गरिएको छ ।
यसैगरी नेपाली कांग्रेसले बृहत् र्यालीका साथ नुम बजारमा कोणसभा गर्दै चुनावी वातावरण आफ्नो पक्षमा पार्न पूर्वराज्यमन्त्री तारामान गुरुङ, दीपक खड्का एवं पूर्व सांसद टङ्कप्रसाद राई, पासाङडुक्पा शेर्पा, नेता दिपन श्रेष्ठ लागेको पार्टी नेता ज्ञानबहादुर कार्कीले जानकारी दिए ।
यता खाँदबारी नपा–३ को वडाध्यक्षको उम्मेदवारीमा नेकपाबाट भरत घिमिरे र नेपाली कांग्रेसबाट विक्रम गुरुङको उम्मेदवारी परेको निर्वाचन कार्यालय सङ्खुवासभाले जनाएको छ ।