कास्की २ मा खेमराज पौडेललाई साथ दिन पुगे मिनेन्द्र घरदैलौमा
कम्युनिष्टले मुलुकलाई उल्टो बाटोमा लग्योः रिजाल
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
606
Shares
पोखरा। नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले कम्युनिष्ट शासनले मुलुकलाई उल्टो बाटोमा लगेको बताएका छन्।कास्की–२ को उपनिर्वाचनमा पार्टीको चुनावी कमाण्डर बनेर पोखरा आएका नेता रिजालले सरकार संविधानलाई भत्काउने, दक्षिणपन्थी र अतिवादी वामपन्थीको उर्वरभूमि बनाउन उद्धत रहेको आरोप लगाए ।
चुनाव प्रचार कार्यक्रम अन्तर्गत मंगलबार पोखरा–१७ मा घरदैलो अभियानमा सहभागी नेता रिजालले कम्युनिष्टको यस्तै रवैयाले जनता आजित र निराश भएको दावी गरे ।
नेपालको नयाँ संविधान कम्युनिष्ट संविधान नभइ लोकतान्त्रिक संविधान भएको उल्लेख गर्दै नेता रिजालले सरकार पनि लोकतान्त्रिक पद्धति अनुसार नै अघि बढ्नुपर्ने स्पष्ट पारे । उनले आम जनतामा छाएको निराशालाई उत्साहमा परिणत गर्न कांग्रेसले निर्वाचन जित्नै पर्ने बताए ।
त्यागी नेता खेमराज पौडेललाई चुनाव जिताएर देशैभर सन्देश दिन आवश्यक रहेको भन्दै रिजालले जनताले पनि कम्युनिष्टलाई मन पराउन छाडेको दावी गरे। मुलुकमा जसरी भ्रष्टाचार बढेको छ, जसरी विकास निर्माणका काम अवरुद्ध छन्, मुलुकको हित विपरितको गतिविधि भएका छन् त्यसलाई रोक्न कास्की–२ का जनताले नेतृत्व गर्नुपर्ने खाँचो औंल्याए ।
कास्की कांग्रसको चुनाव प्रचार अभियान अन्तर्गत आज मंगलबार दिनभर पोखरा–१७ का मतदातासंग भेटघाट गर्ने कार्यक्रम छ । घरदैलो अभियान कांग्रेस नेता डा. रिजाल, उम्मेदवार खेमराज पौडेल, कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार अभियानका कमाण्डर कृष्ण केसीसहित नगरसभापति वजीरमान श्रेष्ठ, नेता देवराज चालिसे, वडा सभापति देवराज आचार्य लगायत नेता कार्यकर्ता पनि सहभागी छन् । पोखरा–१७ को नेतृत्व पनि कास्की सभापति केसीले नै गरेका छन् ।
मतदातामा उत्साह
पोखरा–१७ मा घरदैलो चल्दै गर्दा सोही क्षेत्रका ९२ वर्षीय टंकनाथ लम्साल पनि सहभागी भए । यसक्रममा उनको हातमा रुद्राक्षको माला थियो । उनले आफू आजीवन कांग्रेसको पक्षमा उभिएको बताए । मुलुकमा कांग्रेसबाहेक अन्य पार्टीबाट केही आशा गर्न नसकिने बताए । संविधान कांग्रेसको पालामा बनेको भन्दै लम्सालले २४० वर्षको राजतन्त्र अन्त्य पनि कांग्रेसकै अगुवाईमा भएको बताए । आफू चुनाव प्रचारमा कहिल्यै नहिंडेको भन्दै उनले यस पटक त्यागी नेता खेमराज पौडेल उम्मेदवार बनेकाले आफूलाई निकै खुशी लागेको बताए ।
‘पार्टीले पूराना मान्छेलाई बल्ल चिनेको छ, त्यही खुशीमा म पनि खेमराजलाई आशिर्वाद दिन यहाँ आएको हुँ’, उनले भने । त्यागी नेता खेमराजलाई जसरी पनि जिताउनै पर्ने भन्दै उनले खेमराजलाई जिताउन नसकिए त्यो भन्दा ठूलो अन्याय केही नहुने बताए ।