काठमाडौं। नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला क्यान्सरमुक्त हुनुभएको छ । स्वास्थ्य परीक्षणका लागि हाल संयुक्त राज्य अमेरिकामा रहनुभएका सभापति कोइरालाको स्वास्थ्य परीक्षण प्रतिवेदन हेरेपछि चिकित्सकले उहाँ क्यान्सरमुक्त हुनुभएको बताएको स्वकीय सचिव अतुल कोइरालाले टेलिफोनबाट जानकारी दिनुभएको छ ।
अमेरिकाको न्यूयोर्कस्थित मेमोरिएल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उहाँको छाती, जिब्रो र घाँटीको एक्सरेसहित अन्य परीक्षण गरिएको थियो । सेन्टरका वरिष्ठ चिकित्सक डा मञ्जित बेन्सको नेतृत्वमा उहाँको स्वास्थ्य परीक्षण हुँदै आएको थियो ।
स्वकीय सचिव अतुल कोइरालाका अनुसार चिकित्सकले उहाँलाई छ महिनामा पुनः रिपोर्ट गर्न सुझाव दिएका छन् ।
न्यूयोर्कबासी नेपालीसँग भेट
सभापति कोइराला मङ्गलबार साँझ नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरद्वारा आयोजित स्वागत कार्यक्रम र रात्रिभोजमा सरिक हुनुभयो । उहाँले संविधानसभाबाट संविधान जारी हुनु ऐतिहासिक उपलब्धि भएको बताउँदै तराई–मधेस समस्याको समाधान आपसी संवादको माध्यमबाट हुनुपर्ने बताउनुभयो ।
उहाँले समस्याको शान्तिपूर्ण समाधान गरी मुलुकको सार्वभौमिकता, अखण्डता र एकता कायम गर्दै शान्ति, स्थायित्व र विकासका लागि आफ्नो नेतृत्वको सरकारले संविधान संशोधनको विधेयक दर्ता गराएको जानकारी गराउनुभयो ।
सभापति कोइरालाद्वारा शुभकामना
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले हिन्दू नेपालीको दोस्रो महान् चाड दीपावलीको शुभकामना दिनुभएको छ । कोइरालाले आज विज्ञप्ति जारी गर्दै नेपालीको दोस्रो महान् चाड दीपावली, नेपाल संवत्, छठलगायतका चाडको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
उहाँले नेपाल बहुसङ्ख्यक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक, मौलिक भेषभूषा भएको मुलुक भएकाले चाडबाडले बन्धुत्व भावसँगै विविधताको बीच एकता कायम हुने विज्ञप्तिमार्फत बताउनुभएको छ ।
यस्तै दीपावलीले नयाँ उमङ्ग सिर्जना गरी दिदीबहिनी र दाजुभाइबीचमा मधुर सम्बन्ध विकास गर्ने कामना गर्नुभएको छ । सभापति कोइरालाले तराई मधेसमा भएको आन्दोलन र मित्रराष्ट्र भारतबाट भएको नियन्त्रित आपूर्तिले अभावका बीच चाड मनाउनुपरेको दुःखद् क्षणमा मुस्कुराउँदै आपसी सद्भाव र भ्रातृत्व कायम राख्न सक्ने धैर्यता अपनाउन विज्ञप्तिमार्फत नेपाली जनतालाई आग्रह गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दल समस्याको समाधान आपसी संवाद, सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट गर्न मुलुकलाई निकास दिनुपर्ने बताउनुभएको हो ।
“संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा भएको यस घडीमा मुलुकलाई शान्ति स्थायित्व र सम्बृद्धिको मार्गमा लैजान मुलुकका सबै राजनीतिक शक्तिहरु केन्द्रित हुने विश्वास लिएको छु”– विज्ञप्तिमा भनिएको छ । रासस