सुत्केरी भएको केहि घण्टामै स्वास्थ्य संस्थामै गयो सुत्केरीको ज्यान
दयाराम पण्डित,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
580
Shares
बाजुरा। त्रिवेणी नगरपालिकाको वडा नं एक छतारास्थित स्वास्थ्य चौकीमा उपचारकै क्रममा शनिबार विहान एक सुत्केरीको ज्यान गएको छ । सुत्केरी भएको केही घण्टा पछि छतारा स्वास्थ्य चौकीमै २७ वर्षकी रेजीया नेपालीको मृत्यु भएको अनमी सुमित्रा पाध्यायले बताइन्।
त्रिवेणी नगरपालिका १ छतारा बिशाल बजार बस्ने रेजीया नेपाली चौथो सन्तान जन्माउन स्वास्थ्य संस्था पुगेकी थिईन् । सन्तान पाएको ६ घण्टापछि बेहोस भएर मृत्यु भएको अनमी पाध्यायले जानकारी दिइन। घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी नेपालीको अवस्था सामान्य नै भएपनि बच्चा जन्माएपछि भने उनलाई वचाउन नसकिएको पाध्यायले बताइन्।
शरिरमा रगतको मात्रा निकै कमी भएर नै कमजोरीले ज्यान गएको हुन सक्ने त्रिवेणी स्वास्थ्य शाखा संयोजक चिरञ्जीवी शाहको भनाई छ। तर मृत्युको कारण यही हो भनेर भन्न सक्ने अवस्था नरहेको शाहले जानकारी दिए। मृतक नेपालीबाट जन्मेको बच्चा भने जीवित छ।
बाजुराबाट यस अघि ५ जना सुत्केरीको हेलिकप्टरबाटै उद्दार गरेर ज्यान बचाइएको थियो। नियमित स्वास्थ्य जाँच नगर्ने र स्वास्थ्यकर्मीको परामर्श नलिने गरेकै कारण जिल्लामा सुत्केरीले अकालमै ज्यान गुमाउन बाध्य छन्। स्वास्थ्य संस्था नजिक नहुँदा पनि सुत्केरीलाई नियमित गर्भजाँच र सुत्केरी गराउन समस्या हुने गरेको बताइएको छ ।