ओमको त्यो मन जसले दियो छ हजार बढी नेपालीलाई निःशुल्क प्राथमिक उपचार तालिम
प्रकाशित २०७६ कार्तिक ११ सोमबार
916
Shares
काठमाडौं । युनाइटेड अरब इमाइरेट्स (युएई) लाई कर्मथलो बनाइरहेका एक नेपाली युवाले देखाएको उदार मनले अहिले नेपालका छ हजार भन्दा बढी नेपालीले प्राथमिक उपचार तालिम लिएर हजारौंलाई उद्दार गर्न सक्ने भएका छन् ।
चितवन निवासी ओम उप्रेतीले आफ्नो एकल प्रयासमा नेपालका ३८ जिल्लाका ६ हजार भन्दा बढीलाई निःशुल्क तालिम दिएका छन् । उनले चौथो चरणको तालिम सुदुर पश्चिमका १२ जिल्लाहरुमा सम्पन्न गरेका थिए ।
सरकारको सहयोग बिना पनि इच्छाशक्ति हुने हो भने सहयोग गर्न सकिने उनको कर्मबाटै स्पष्ट हुन्छ । उनी अझै रोकिएका छैनन् । उनी भन्छन् – बल्ल अभियानले आधा नेपाल पुर्याउन सकियो । सबै नेपालमा पुग्नुछ ।’
अभियन्ता उप्रेतीले दिएको जानकारी अनुसार अभियानको पहिलो चरणमा २ हजार, दोश्रो चरणमा १२ सय, तेस्रो चरणमा १३ सय र चौथो चरणमा १५ सय गरी ६ हजार नेपालीहरुलाई निः शुल्क प्राथमिक उपचार तालिम प्रदान गरिएको छ । नेपालका ३८ जिल्लाहरुमा यो तालिम प्रदान गरिसकेको जानकारी दिदै अभियन्ता उप्रेतीले भने, ‘अब बाँकी जिल्लाहरुमा आगामी दिनहरुमा निरन्तरता दिइनेछ ।’
आफ्नो काम र ब्यवसाय छाडेर विकट पहाडी जिल्लाहरुमा स्वास्थ्य चेतना बाँडेर आखिर के पाउलान् ओम उप्रेतीले ? धेरैले सोध्ने यो प्रश्नको जवाफमा अभियन्ता उप्रेतीले भने ‘आफूले विदेशमा सिकेको कुरा स्वदेशमा सिकाउन पाउँदा आत्मसन्तुष्टि पाउँछु ।’
डिस्कभरी रोयल स्पोर्ट्स एलएलसीका प्रवन्ध निर्देशकसमेत रहेका यो अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीले विदेशमा निश्चित रकम लिएरै प्राथमिक उपचारको तालिम दिने गरेका छन् ।
तर उनले नेपालमा कुनै पनि प्रशिक्षार्थीबाट एक पैसा लिएका छैनन् । केही स्थानीय कार्यक्रमको संयोजन गर्छन् । उनले अहिलेसम्म लाखौं रुपैयाँ देशका लागि खर्च गरिसकेका छन् । जति गरेका छन् त्यो पर्याप्त हो । तर स्वास्थ्य चेतना कमी भएको देशका लागि भने अझै अपूरो छ ।
उप्रेतीले हरेक विद्यालयमा पाठ्यक्रम मै राख्न सक्ने हो भने विद्यार्थी शिक्षित हुँदा परिवारलाई नै फाइदा पुग्ने दावी गर्छन् । सरकारले उनका कुरा सुन्ने हो भने कम्तीमा तत्काल प्राथमिक उपचारसमेत नपाएर कुनै नेपालीले मर्नुपर्ने छैन ।
उप्रेती औषधीका कुरा गर्दैनन् । उनी चिकित्सक पनि हैनन् । उनी त कुनै दुर्घटना हुनासाथ कसरी उक्त बिरामीलाई थप असर बिना अस्पतालमा उपचारका लागि पुर्याउन सकिन्छ भनी शिक्षा दिन्छन् ।
कतिपय रोगमा परम्परावादी रुपले गरिने उपचारले बढाउने जोखिमबारे छर्लङ्ग पार्छन् । उनले तयार पारेका दक्ष जनशक्तिले कम्तीमा आफ्नो घरदेखि टोलसम्म भएका घटनामा सल्लाह दिन सक्छन् ।
उनले आफ्नो तालिमलाई सहज बनाउन कुनै बेला चिकित्सकको पनि मद्धत लिने गर्छन् । त्यसले तालिमलाई झन् सार्थक प्रदान गर्छ ।
यसलाई पनि थप प्रशिक्षण र दक्ष बनाउन सक्ने हो भने त्यो शिक्षा जतिबेला पनि काम लाग्ने थियो । उप्रेती भन्छन् –सरकारले यसलाई गम्भीर रुपले लिने हो भने पक्कै पनि दाजुभाइ दिदीबहिनीले अकालमा मर्नु पर्दैन थियो होला । प्रयास गर्न सकिन्छ ।