देउवाको स्पाइनल कर्ड इन्जुरी भएकाहरुप्रति प्रतिवद्धता– कम्युनिष्ट सरकारले खोस्यो कांग्रेसले भत्ता दिलाउने छ
प्रकाशित २०७६ कार्तिक १० आइतबार
272
Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले स्पाइनल कर्ड इन्जुरी भएकाहरुको हकअधिकार केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले छिनेको भन्दै आफू सत्तामा गएपछि पुनः त्यो अधिकार दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघद्वारा आयोजित नेपालीका चाडपर्वहरुको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सभापति देउवाले आफ्नो पालाको सरकारले स्पाइनल कर्ड इन्जूरी भएकालाई पाँच हजार रुपैयाँ भत्ता दिएकामा ओली सरकारले काटेको भन्दै पुनः त्यसलाई काँग्रेसले निरन्तरता दिने बताए। कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकारले अतिवादको पराकाष्ठा नाघेकाले अब जनताले सजाय दिने बेला आएको बताए।
कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यज्युहरु मानबहादुर विश्वकर्मा, सीता गुरुङ्ग, जिपछिरिङ्ग लामा, श्याम घिमिरे, रमा पौडेल, पूर्व अर्थराज्यमन्त्री उदय सम्सेर राणा, काठमाडौं, ललितपुर, दोलखा, सिन्धुपाल्चोकका सभापतिहरु क्रमशं सबुज बानिया, मदन अमात्य, रुद्रबहादुर खड्का, विकाश लामा, नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, जिल्ला अध्यक्षहरु, अपाङ्ग महासंघका प्रतिनिधिहरु, अपाङ्गता क्षेत्रका संघसस्थाका प्रतिनिधि, प्रदेश सांसद भिमसेन खत्री, लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबैलाई विशेष धन्यवाद दिँदै लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठले अपाङ्गता भएकाहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोमा चिन्ता व्यक्त गरे।
उनले कार्यक्रममा अहोरात्र खटिएका कार्यसमिति र जिल्ला समितिलाई विशेष धन्यबाद साथै कार्यक्रम सञ्चालनमा केही कमिकमजोरी भए त्यसको जिम्मेवारी अध्यक्षको हैसियतले आफैले लिने बताए। कार्यक्रमको संयोजन कल्पना खड्काले गरेकी थिइन्।