नेपालगन्ज । ईलाका प्रहरी कार्यालय कोहलपुरले जुवाखालबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ। कोहलपुर प्रहरी प्रमुख डिएसपी हेम बहादुर शाहीको कमान्डमा गएको टोलीले सोमबार मध्यरातमा कोहलपुर १२ चपरगौडीस्थित सागर होटेलबाट आठ जना जुवाडेसहित १ लाख २२ हजार ३३५ रुपैयाँ बरामद गरेको छ।
विशेष सूचना पाएर गएको टोलीले जुवाडेहरुको साथबाट दुई थान चेकबुकसमेत बरामद गरिएको शाहीले बताए ।
डिएसपी शाहीका अनुसार पक्राउ पर्नेमा अनिल भगत, टंकप्रसाद पन्थी, विजय पोखरेल, सुजन श्रेष्ठ, सुनिल खनाल, दिपक पौडेल, पशुपति घिमिरे र केशव तिवारी रहेका छन् ।
पक्राउ परेका आठै जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाइने शाहीले बताए । उनीहरुको मंगलबार म्याद थप गरिने भएको छ।