चितवनले देश विकासको नमूना दिनुपर्छ : अध्यक्ष दाहाल
रासस,
प्रकाशित २०७६ असोज ३० बिहिबार
648
Shares
चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनले देशको विकासमा नमूना प्रस्तुत गर्न आवश्यक रहेको बताएका छन्। राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य सङ्घले आजदेखि पूर्वी चितवनमा आयोजना गरेको प्रथम राप्ती महोत्सवको उद्घाटन गर्दै उनले देशको केन्द्रविन्दुमा रहेको यस जिल्लाले विकासमा देशलाई नेतृत्व गर्नुपर्ने बताएका छन्।
विकासका लागि चितवनमा प्रचुर सम्भावना रहेको बताउँदै उनले भने “विभिन्न आन्दोलनमा चितवनले खेलेको भूमिकालाई महसुश हुने गरी विकास गर्नुपर्छ।” उनले थपे, “देशलाई यस जिल्लाले विकासको नमूना देखाउनु जरुरी छ।” अहिले सरकारले देशलाई समृद्धिको यात्रातर्फ अघि बढाएको बताउँदै उनले यस्ता मेला महोत्सवले त्यसमा सहयोग पुर्याउने बताए।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष दाहालले भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर सङ्कलन केन्द्र (ढाट) स्थानान्तरणका लागि सरकारसँग आवश्यक पहल गर्ने बताए। उनले भने, “एउटै जिल्लावासीले पनि कर तिर्नुपर्ने यो विडम्बना हटाउन प्रयत्न गर्छु।” चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले जिल्लामा धान खेतीमा देखिएको समस्या समाधान गर्न आवश्यक पहल गरिने उनको भनाइ थियो।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले सरकार देशको विकासका लागि पञ्चवर्षीय योजनाका साथ अघि बढेको बताए। सरकारको लक्ष्य प्राप्तिका लागि जनता र राजनैतिक दलहरुले सहयोग गर्न आवश्यक रहेको उनको भनाइ थियो। यसका लागि देशमा सुशासन आवश्यक रहेको बताउँदै उनले भने, “सुशासनका लागि दल र जनताको सहयोग आवश्यक छ।” औद्योगिकरण बिना देशमा समृद्धि सम्भव नभएको भन्दै उनले यस्ता मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रथामिकता दिनु आवश्यक रहेको बताए।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको व्यापार घाटा घटाउनका लागि स्वदेशी उद्योगलाई प्रथामिकता दिन आवश्यक रहेको बताए। यसका लागि राज्यले व्यवसायमा कर छुटको अवधारणा ल्याउनु आवश्यक रहेको उनको भनाइ थियो। अहिले पनि नेपालले ८० प्रतिशतसम्म व्यापार घाटा बेहोरी रहेको उनले जानकारी दिए।
प्रदेश नं ३ का कृषि, सहकारी तथा भूमि व्यवस्थामन्त्री दावा दोर्जे लामाले जिल्लाको उत्पादनलाई चिनाउन यसखालका मेला महोत्सव प्रभावकारी हुने बताए। नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, राप्ती नगरपालिकाका प्रमुख प्रभा बराललगायतले पनि बोलेका थिए। राप्ती उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकीहरु समेत प्रस्तुत गरिएको थियो। आजदेखि शुरु भएको प्रथम राप्ती महोत्सव आगामी कात्तिक ९ गतेसम्म चल्ने छ। महोत्सवमा २५० स्टल रहेका छन्। एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको सो महोत्सवमा रु पाँच करोड बराबरको कारोवार हुने अपेक्षा गरिएको सङ्घका अध्यक्ष कँडेलले बताए।