प्रमाण नपुगेपछि गाउँपालिका अध्यक्ष गिरी विरुद्धको बहुविवाह मुद्धा दर्ता नै भएन
राजनीतिक दाउपेच साँधेर राखिएको थियो हिरासतमा
प्रकाशित २०७६ भदौ २९ आइतबार
605
Shares
प्यूठान। गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले बहुविवाह गरेको भन्दै प्रहरीमा परेको उजुरीमा कुनै कार्वाही नहुने भएको छ ।
आईतबार जिल्ला सरकारी वकिल कार्यालय प्यूठानले मुद्धाका लागि प्रमाण नपुगेको भन्दै अदालतमा उजुरी दर्ता नगर्ने निर्णय गरेको हो ।
जिल्ला अदालत समक्ष मुद्धा दर्ता नगर्ने निर्णय गरी उच्च सरकारी वकिलको कार्यालयमा पठाइएको निमित्त जिल्ला न्यायाधिवक्ता शिवप्रसाद आचार्यले बताए ।
उच्च सरकारी वकिलको कार्यालयले निर्णय सदर नगरेसम्म सम्पर्कमै रहने गरी अध्यक्ष गिरीलाई हिरासत मुक्त गरिएको प्यूठान प्रहरी प्रमुख नरेश कार्कीले जानकारी दिए ।
पुष्टी हुन नसक्ने आरोपकै आधारमा लामो समय हिरासतमा रहनुपर्दा सामाजिक क्षति भएको अध्यक्ष गिरीले प्रतिक्रिया दिएका छन् । ढिलै भए पनि मुद्धा खारेज भएकाले सामाजिक क्षतिपूर्ति हुने उनले विश्वास व्यक्त गरे ।
गत भदौं १० गते १० बर्षदेखि अलग रहेकी श्रीमती सिता केसीले बहुविवाह गरेको भन्दै हुलाक मार्फत प्रहरी समक्ष उजुरी गरेकी थिइन । फेसकुक च्याटका कुराकानी र फोटोहरुको आधारमा उनले उजुरी दिएकी थिइन् ।
बहुविवाह नगरेको र प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने भन्दै अध्यक्ष गिरी १५ भदौंमा प्रहरी समक्ष स्वयम उपस्थित भएका थिए ।
अनुसन्धान नसकिएको भन्दै प्रहरीले गिरीलाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्दै आएको थियो ।
स्थानियले राजनीतिक प्रतिशोध साँध्न गिरीलाई फसाएर दुख दिएको बताउँदै आएका थिए।