काठमाडौँ । सगुन समूहले आफ्नो सामाजिक तथा इकमर्स साईट ‘सगुन डटकम (
sagoon.com)’को दोस्रो संस्करणको राजधानीमा ग्लोबल लञ्चिङ गरेको छ । संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका नेपाली नागरिक गोविन्द गिरीले लामो समयको मेहनतपछि स्थापना गरेको सञ्जालको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिमोटको बटम दबाई प्रोजेक्टरमार्फत सञ्जाल सार्वजनिक गरेका हुन् ।
उनले सरकार विद्युतीय सरकारी सेवा (इगभर्नेन्स) मा जान चाहिरहेको बेला सगुनले ल्याएको सोच सकारात्मक भएको बताए । ‘हामी आधुनिक, विकसित किसिमको नेपाल बनाउन चाहन्छौं, यसका लागि आईटीको विकास र प्रयोग व्यापक रुपमा हुनुपर्दछ,एउटा कोठामा बसेर एक्लै कम्प्युटर चलाए जसरी अहिले विकास हुँदैन, त्यसलाई जति फैलाउन सक्यो त्यसको विकास त्यति नै बढी हुन्छ,’उनले भने,‘गोविन्द गिरी जी नयाँ सोचबाट अगाडि बढ्नुभएको छ, यो आफैमा सराहनीय काम हो, नेपालको आइटी क्षेत्रका लागि यो नयाँ कोसेढुंगा नै हो ।’
उनले विदेशमा पढेर उतै काम गरेर नेपाल नफर्किने पछिल्लो पुस्ताका मानिसहरुको अवस्थालाई गोविन्दको कामले व्यंग्य गर्ने दाबी गरे । ‘प्राय नेपालीहरु विदेशमै बसेर धेरै पैसा कमाए पनि आफ्नो मातृभूमिलाई केही गर्न सकेका छैनन्, यो बेला गोविन्दजीको टिमले सामाजिक सञ्जाल बनाएर नेपालमै आई सार्वजनिक गर्नु आफैमा महत्वपूर्ण उपलब्धि हो ।’ उनले भने । ओलीले सस्तो संयन्त्रको लागि भन्दा पनि गुणस्तरीय संयन्त्रको सञ्जाल निर्माणको लागि शुभकामना दिए । उनले सरकारले गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा उपप्रधानमन्त्री कमल थापाले सपना, परिकल्पना र आत्मविश्वासका साथ सुरु भएको सञ्जालले नेपाल र नेपालीलाई विश्वमा चिनाउने बताउनुभयो । पूर्वमुख्यसचिव लीलामणि पौड्यालले नेपालले अन्य उद्योगको तुलनामा ज्ञानमा आधारित उद्योगमार्फत आर्थिक विकास गर्ने प्रचूर सम्भावना रहेको औल्याए ।
कार्यक्रममा सगुनका संस्थापक गोविन्द गिरीले सगुनलाई फेसबुक, ट्वीटरसँग तुलना नगर्न आग्रह गरे । ‘सगुन भनेको अहिले बच्चा हो, फेसबुक ट्वीटर वयस्क भईसकेका छन्, फेसबुक ट्वीटर चलाउँदा प्रयोगकर्ताले आम्दानी नगरी समय खेर फालिरहेका छन्,’उनले भने,‘तर सगुनले भने आम्दानीको केही हिस्सा प्रयोगकर्तालाई पनि दिनेछ ।’ उनले आगामी पाँच वर्ष भित्रमा ५ बिलियन डलरसम्मको कम्पनी agfpg] महत्वकांक्षी योजना सुनाउँदै विभिन्न प्रोडक्ट पनि सगुन डटकममार्फत सार्वज्निक गर्ने जानकारी दिए । गिरीले सगुनमा प्रारम्भिक चरणमा मुख्यतया तीन एप्लिकेसन (मुड टक, सेक्रेट मेसेन्जिङ, स्क्याजुअल सेयरिङ) रहेको बताए ।सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले संखुवासभाको दुर्गम गाउँमा जन्मिएर अमेरिकामा पुगी सामाजिक सञ्जाल बनाउनु आफैमा ऐतिहासिक भएको बताउँदै आफुहरुको अभियानमा नेपालीले साथ दिने बताए ।
सगुन समूहका एसिया निर्देशक स्वाती दयाल, हेल्प नेपालका संस्थापक रवीन्द्र मिश्र, सगुन समूहका नेपाल प्रतिनिधि अजयबाबु शिवाकोटी र रेडियोकर्मी सविना कार्कीले सो सञ्जालले विश्वमा नेपाललाई चिनाउने धारणा राखेका थिए । सम्बन्ध जोड्ने, आदानप्रदान गर्ने र ज्ञान वृद्धि गर्ने सुविधा सहितको सो सञ्जाल उद्घाटनका क्रममा हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले आआफ्नो प्रस्तुति दिएका थिए । सञ्जालले आम्दानी हुने केही हिस्सा नेपालको सामाजिक क्षेत्रमा खर्चने जनाएको छ । सगुनको हाल दुई लाख प्रयोगकर्ता छन् ।
हालै नेपालमा गएको महाभूकम्पको विनास पश्चात सगुनले धुर्मुस सुन्तली सहित राहतवितरण, विद्यालयपुनःनिर्माण, चर्पि निर्माण तथा काभ्रेपलाञ्चोक जिल्लामा बनेको ‘धुर्मुस–सुन्तली एकिकृत नमूना वस्ती’ निर्माणमा सहयोग गरेको थियो।