प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न सिङ्गापुर जादै
रासस,
प्रकाशित २०७६ साउन १८ शनिबार
439
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जादैछन्। आज राति सिङ्गापुर जान लागेका उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए।
प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुनेछ। भोलिदेखि नै उनको स्वास्थ्य परीक्षण शुरु हुनेछ। उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्य उपचार गर्नेछन्।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन्। यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए।
प्रधानमन्त्रीसँग उनका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जाने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए। प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार साउन २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।