काठमाडौं । आइतबारदेखि व्यवस्थापिका संसदमा उपस्थित भएका तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका आठ दलले पहिलो दिन नै व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् ।
उनीहरुले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । सभामुख ओनसरी घर्तीले आफ्नो एजेण्डा सम्बोधन गराउन पनि संसदको कारबाही अघि बढाउनु पर्ने भन्दै नाराबाजी नगर्न आग्रह गर्दा पनि उनीहरुले केही टेरेनन् ।
अवरुद्ध गर्नु अघि संघीय समाजवादी फोरमका संसदीय दलका नेता अशोक राईले तराई मधेसको माग पुरा नगरी सदन चलाउनु उपयुक्त नहुने बताएपछि नाराबाजी शुरु भएको थियो ।सभामुख घर्तीमगरले सोमबार दिउँसो तीन बजेका लागि अर्को बैठक बोलाएकी छन् ।