काठमाडौं । पर्साको ड्राइपोर्ट–परवानीपुर सडक खण्डबाट मङ्गलबार नियन्त्रणमा लिएको बिआर २८ जी २७७० नं को भारतीय जीपबाट प्रतिबन्धित लागूऔषध गाँजा झिक्दै सुरक्षाकर्मी ।
उक्त जीपबाट ९० किलो ग्राम गाँजा बरामद भएपछि आवश्यक अनुसन्धानका लागि जीपमा रहेका भारत मोतिहारी निवासी नुर महम्मद हुसैन, असलम आलम, इरसाद साई र सुनिल साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मुलुकभर लागुऔषध ओसारपसारका मुद्दामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५-७६ मा लागुऔषधका मुद्दामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा तीन हजार ८८ मुद्दा दर्ता भएकामा आव २०७५/७६ मा तीन हजार ३५७ मुद्दा दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियता बढेसँगै लागुऔषध दुव्यर्सनी तथा ओसारपसारका घटनामा वृद्धि भएको बताउछन्। “खुला सिमानाका कारण तराई क्षेत्रबाट लागुऔषध धेरै ओसारपसार हुने गरेको छ”, उनि भन्छन्।
लागुऔषध सेवनले व्यक्ति, घरपरिवार, समाजलाई मात्र नभएर सिङ्गो देशलाई नै असर गर्ने भएकाले नेपाल प्रहरीले बढ्दो लागुऔषध दुव्यर्सनी तथा ओसारपसालाई कम गर्न लागुऔषध नियन्त्रण ब्यूरोको स्थापना गरी काम गर्दै आइरहेको छ ।
विसं २०६९ मा स्थापना भएको ब्यूरोले हालसम्म ९६ विदेशीसहित दुई हजार ५१८ व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको ब्यूरोका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए।
नेपालमा वार्षिक ११ प्रतिशतका दरले लागुऔषध प्रयोगकर्ताको दर बढेको भन्दै यसलाई न्यूनीकरण गर्न गृह मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
गाँजा, अफिमलगायतका लागुऔषध नेपालको पहाडी र भित्री मधेसमा धेरै उत्पादन हुने गरेको भन्दै यसलाई न्यूनीकरण गर्न प्रहरी मात्र नभएर स्थानीयवासी नै सक्रिय रुपले लाग्नुपर्ने लागुऔषध ब्यूरोका प्रहरी नायब उपरीक्षक थापा बताउछन्।
प्रहरीले हाल लागुऔषध ऐन, २०३३ अनुसार मुद्दा चलाउँदै आएको छ ।