टाटा विंगर र अटो रिक्सा एकआपसमा ठोक्किदा दुईको मृत्यु, ४ जना गम्भीर घाइते
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन १२ आइतबार
322
Shares
जनकपुरधाम । धनुषा जिल्लाको महेन्द्रनगर सडकखण्डमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जनकपुर महेन्द्रनगर सडकखण्डमा आईतबार अपरान्ह टाटा विंगर र अटो रिक्सा एक आपसमा ठोक्किदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन ।
महेन्द्रनगरबाट जनकपुर तर्फ आउँदै गरेको ना १ ज ७०२२ नम्बरको विंगर र जनकपुरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ज १ ह ४८९६ नम्बरको टेम्पो क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ हरैया नजिक एक आसपमा ठोक्किदा दुर्घटना हुन पुगेको प्रहरीले बताएको छ ।
प्रारम्भिक जानकारी अनुसार मृतक दुई जनामा एक महिला र एक पुरुष रहेका छन् । धनुषाको रमेशपुर बस्ने अन्दाजी बर्ष ७२ का रामदेव साहको घटनास्थलमै मृत्यु भएको छ भने मृतक महिलाको नाम ठेगाना भने खुल्न सकेको छैन ।
मृतक महिला भने अन्दाजी बर्ष ५० की देखिएकी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएका छन । उक्त दुर्घटनामा घाईते हुनेमा टेम्पो चालक रोशन साह र अन्य यात्रु रहेको छ । उनीहरुको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको प्रहरी बताएको छ ।