सन्दीप लामिछानेको टिम टोरन्टो ग्लोबल टी–२० को पहिलो खेलमै पराजित
युवराज सिंह र क्रिस गेलको खेल भयो फेल
प्रकाशित २०७६ साउन १० शुक्रबार
633
Shares
काठमाडौं । क्यानाडामा बिहीबारदेखि सुरु भएको ग्लोबल टी–२० क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछाने सम्मिलित रहेको टोरन्टो नेसनल्स उद्घाटन खेलमै पराजित भएको छ ।
बिहीबार राति भएको उद्घाटन खेलमा टोरन्टोलाई डिफेन्डिङ च्याम्पियन भ्यानकुभर नाइट्सले ८ विकेटले पराजित गरेको हो ।
भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १५९ रन बनायो ।
ओपनिङ ब्याट्सम्यान रोड्रिगो थोमस र हेन्रेच क्लासेनले समान ४१–४१ रन बनाए । थोमसले ३१ बलमा तथा क्लासेनले २० बलमा उक्त योगफल बनाएका हुन् । काइरन पोलार्डले १३ बलमा नटआउट ३० रन बनाए ।
इंगल्याण्ड विश्वकपका बेलामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका युवराजले २७ बलमा १४ रन बनाए ।
जवाफमा १६० रनको लक्ष्य भ्यानकुभरले १७.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गरेको हो । भान देर डुसेनले ४३ बलमा नटआउट ६५ रन तथा चाडविक वाल्टोनले ३५ बलमा नटआउट ५९ रन बनाए ।
कप्तान वेष्ट इन्डिजका खेलाडी क्रिस गेलले १० बलमा १२ रन बनाए ।
यो खेलमा खेलेनन् सन्दीप
यो खेलमा टोरन्टोका लागि सन्दीप लामिछानेले खेलेनन् । सन्दीप सिंगापुरमा जारी विश्वकप टी–२० एसियाली छनोट चरणको फाइनल खेलका लागि रहेकाले उपस्थित हुन नसकेका हुन् ।