टी–२० मा मलेसियाविरुद्ध नेपालको शानदार जित, ज्ञानेन्द्रको कीर्तिमानसहित कप्तानी इनिङ
प्रकाशित २०७६ साउन ८ बुधबार
235
Shares
काठमाडौं । ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेलेपछि नेपालले मलेसियालाई सिंगापुरमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट अन्तर्गतको एसिया फाइनलमा सजिलै पराजित गरेको छ ।
नियमित कप्तान पारस खड्का चोटिल भएपछि कप्तानी सम्हालेका मल्लले कप्तानी इनिङ खेलेका हुन् । मल्लले २१ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ५१ रन बनाए ।
नेपालले टी–२० मा बनाएको फास्टेस्ट फिफ्टीको कीर्तिमान पनि मल्लले राखेका छन् ।
नेपालले मलेसियाबाट प्राप्त ८४ रनको लक्ष्य ८ ओभरमै ३ विकेटको नोक्सानीमा पूरा गरेको हो ।
विनोद भण्डारीले नटआउट १३ तथा प्रदीप सिंह ऐरीले १२ रन बनाए ।
यसअघि वर्षाले गर्दा ढिला गरी सुरु भएको खेललाई ९ ओभरमा झारिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ९ ओभर खेल्दै ७ विकेटको नोक्सानीमा ८३ रन बनायो ।
मलेसियाका लागि सायद अजिजले सर्वाधिक ३० रन जोडे ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले १–१ विकेट लिए ।