काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमेश सिलवालले नेपाली बक्सिङ खस्किनुको कारण खोज्ने बेला भएको बताएका छन् ।
नेपाल बक्सिङ संघले आइतबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले भने‘कुनै बेला दक्षिण एसियामा पावर हाउसको रुपमा रहेको नेपाली बक्सिङ खस्किनुको कारणा खोज्ने बेला आएको छ ।
नेपाली बक्सिङ कुनै बेला दक्षिण एशियाको शक्ति केन्द्र बनेको थियो किन खस्कियो ?’
‘दोषी को ? राखेप, संघ, खेलाडी ? कारण खोजिनु पर्छ’ सदस्य–सचिव सिलवालले थपे ।
नेपाल भन्दा सानो मुलुक क्युवाले बक्सिङ खेलमा तहल्का मचाएकोे उदाहरण दिँदै सदस्य सचिव सिलवालले भने, ‘हामी गोर्खाली हौ बक्सिङमा राम्रो गर्न सक्छौं ।’ सानो देश क्युवाले ओलम्पिकमा मेडल ल्याउन सक्छ, नेपालले किन सक्दैन ? पदक जित्ने बानी भएपछि गोर्खाली हौं ह्याकुुलाले मिचर पनि ल्याईन्छ । नतिजामुखी भएर लाग्नुस् राखेपको सहयोग सदैब रहन्छ ।’
कार्यक्रममा बोल्दै राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाले बक्सिङ संघमा समस्या भएकोे स्मरण गराउँदै भने, ‘’बक्सिङ संघमा केहि समस्यहरु छन् । राखेप खेलकुद विवादरहित बनाउन लागिपरेको छ, यो लामो समय रहनु हँुदैन । गौरबपुर्ण इतिहास बोकेको बक्सिङ एक भएर अगाडि बढ्नु पर्छ ।’
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुदमा पदक जित्न दाबी गर्दै राष्ट्रिय टोलीका खेलाडीलाई बिशेष प्रशिक्षणका लागि थाइल्याण्ड पठाएको समेत जानकारी गराए ।
‘सागमा हामीले पदक नजितेको धेरै समय भएको छ । हामीले नजर अहिले सागमा लगाएका छौँ । १३ औं सागमा पदक ल्याउने लक्ष्य छ । त्यसको लागि हामीले टिम थाइल्याण्ड पठाएको छौँ,’ अध्यक्ष अवालेले भने ।