काठमाडौं । पर्वतमा परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना घरमा बसोबास गर्न छाडेका हुन् । घुमाउने घरभित्र अँध्यारो, धेरै कोठा नहुने र छानो छाउनका लागि वर्षैपिच्छे झन्झट हुनाले पनि स्थानीय बासिन्दाले घुमाउने घर छाड्दै गएका हुन् ।
केही वर्षअघिसम्म पर्वतका विभिन्न गाउँमा बाक्लै देखिने घुमाउने घर अहिले एक÷दुई मात्रै देख्न सकिन्छ । हरेक गाउँका बासिन्दा शहरबजारतर्फ आकर्षित हुन थालेपछि र गाउँगाउँमा यातायात सुविधा पुगेपछि अहिले घर आधुनिक बन्न थालेका छन् । घुमाउने घर छाउने खरसमेत प्रशस्त पाइन छाडेकाले तथा सबै ठाउँमा जस्तापाताको पहुँच राम्रो भएकाले पनि यी घर अब इतिहासमा मात्र सीमित हुने भएका छन् ।
केही वर्षअघिसम्म गाउँमा अधिकांशका घुमाउने घर थिए तर अहिले सबैले ती घर भत्काएर फरक प्रकृतिका बनाउन थालेका छन् । घुमाउने घर बस्नका लागि न्यानो र स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने भए पनि पछिल्लो समय धेरै कोठा भएको आधुनिक घर बनाउने प्रचलन आएपछि लोप हुँदै गएको कुश्मा नगरपालिका वडा नं १२ ठुलीपोखरीका बासिन्दा हेमराज सापकोटाले बताए । “एक सय वर्षभन्दा पहिले बनेका घर अहिले लोप भइसकेका छन्”, सापकोटाले भने, “भएका केही घर पनि उपयोगमा छैनन्, जीर्ण भइसकेका छन् ।” तर यस्ता घर जुनसुकै मौसम र जुनसुकै स्थानमा पनि बस्नका लागि भने उपयुक्त हुने उनको बुझाइ छ ।
खर उत्पादन हुने खरबारीमा अहिले रुखबिरुवा भरिएकाले खरको अभाव हुँदा मानिस उज्याला, फराकिला र आरामदायी घरमा बस्न रुचाउन थालेपछि घुमाउने घर लोप हुँदै गएको स्थानीयवासी रामकृष्ण सापकोटाले बताए। जस्तापाताको व्यापक प्रयोग, सुलभरूपमा पाइने र एकपटक छाएपछि बीसौँ वर्षका लागि काम गर्ने हुनाले घुमाउने घर निर्माण गर्न तथा निर्माण गरिएका समेत उपयोगविहीन हुन थालेको उनले बताए।
“विगत डेढ दशक अघिसम्म पर्वतका विभिन्न ठाउँमा सयौँ घुमाउने घर थिए, अहिले औँलामा गन्न सकिने छन्”, स्थानीयवासी वृद्ध चिन्तामणि सुवेदीले भने । अहिले खरले छाएका भन्दा ढुङ्गा र जस्ताले छाएका घर गाउँभरि बनेको उनले बताए। पछिल्लो समयमा भने गाउँगाउँमा पक्की घर निर्माण हुन थालेका छन् । सबै क्षेत्रमा यातायातको सुविधा पुगेपछि र सिमेन्ट, बालुवा र रड सजिलै उपलब्ध हुने भएकाले गाउँलेहरुमा पक्की घर निर्माण गर्ने प्रचलन बढेको हो । रासस