विश्वकप क्रिकेट : शनिबार लिगचरणका अन्तिम खेल, पहिलो हुने टोलीको टुङ्गो लाग्ने
प्रकाशित २०७६ असार २१ शनिबार
745
Shares
काठमाडौं। शनिबार एकदिवसीय क्रिकेट विश्वकप २०१९ को लिगचरणका अन्तिम दुई खेलहरु हुँदैछन्। शनिवारको खेलमा भारत र श्रीलंका तथा अष्ट्रेलिया र दक्षिण अफ्रिकाको बीचमा प्रतिस्पर्धा हुन लागेको हो।
चार टोली सेमिफाइनलमा पुगिसकेका छन्। तर, शनिवारको खेलले सेमिफाइनलमा कुन टोलीले कसको सामना गर्नेछ भन्ने कुराको टुङ्गो लगाउनेछ। सेमिफाइनलमा पुग्ने पहिलो र दोस्रो टोलीमा अष्ट्रेलिया र भारत छन्। यदि शनिवारको खेलमा भारतले जितेको र अष्ट्रेलियाले हारेको खण्डमा भारत समेमिफाइनलको पहिलो टोली बन्नेछ। अन्यथा सेमिफाइनलमा पुग्ने पहिलो टोली अष्ट्रेलिया र दोस्रो टोली भारत बन्नेछ। तेस्रोमा इंगल्याण्ड र चौथोमा न्युजिल्याण्ड हुने टुङ्गो लागिसकेको छ।
यस्तोमा पहिलो हुने टोलीले न्युजिल्याण्डको सामना गर्नेछ भने दोस्रो हुने टोलीले घरेलु टोली इंगल्याण्डको सामना गर्नेछ। घरेलु यसपटक उपाधि जित्ने दाउका साथ राम्रो तयारी गरिरहेको छ। साथै उसले यसपटकको विश्वकपमा निकै राम्रो प्रदर्शन पनि गरिरहेको छ। यस्तोमा पहिलो हुने टोलीलाई न्युजिल्याण्डको खेल तुलनात्मकरुपमा केही सहज हुनसक्ने अनुमान छ।
अष्ट्रेलियाले समुहको ८ खेलबाट १४ अंक बनाएको छ भने भारतको समान खेलबाट १३ अंक छ। इंगल्याण्ड १२ अंकका साथ तेस्रो स्थानमा छ भने ११ अंक जोडेको न्युजिल्याण्ड नेट रनरेटमा पाकिस्तानलाई पछि पार्दै सेमिफाइनलमा पुगेको हो।