काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न देशमा रहेका नेपालका लागि अवैतनिक महावाणिज्य दूतहरुले बिहीबार भेटघाट तथा छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाट तथा छलफलमा नेपालका राष्ट्रिय प्राथमिकताहरुलाई सम्बन्धित देशहरुमा कसरी प्रवद्र्धन गर्ने भन्ने विषयमा छलफल भएको थियो ।
खासगरी नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा धेरै मुलुकका नागरिकलाई नेपालमा भित्र्याउने सन्दर्भबारे पनि व्यापक छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
“हामी अहिले जुन परिवर्तित अवस्थामा आइपुगेका छौँ, हाम्रा राष्ट्रिय प्राथमिकताहरु जुन फरक भैरहेका छन्, ती फरक राष्ट्रिय प्राथमिकतालाई तत् तत् देशहरुमा प्रवद्र्धन कसरी गर्न सकिन्छ”, डा भट्टराईले भने “त्यसभित्र पहिलो र महत्वपूर्ण कुरा भनेको सन् २०२० मा हामीले मनाउन गइरहेको भ्रमण वर्षमा धेरैभन्दा धेरै मुलुकलाई कसरी समावेश गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।”
प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि पहल गर्न पनि महावाणिजयदुतहरुसँग आग्रह गरे । “हामीले लगानी, दुई पक्षीय व्यापार, प्रविधि र पुूँजी देश भित्र्याउन खोजिरहेका छौँ, त्यो कामका लागि वहाँहरुका तर्फबाट के कस्तो प्रयास गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ”,डा भट्टराईले भने ।
भेटमा विभिन्न कामको सिलसिलामा विदेशमा पुगेका नेपालीहरुको सुरक्षाका मामलामा, त्यहाँ भएका अफ्ठ्यारा स्थितिको बारेमा नेपालका तर्फबाट पूर्ण रुपमा सहयोग हुनुपर्ने धारणा प्रधानमन्त्री ओलीले राखेका थिए ।
“कतिपय स्थितिमा उनीहरुलाई नेपालको तर्फबाट त्यहाँ गर्नु पर्ने सहयोग र त्यहाँको सरकारबाट दिलाउनुपर्ने सहयोग, सुरक्षाको विषय, कुनै बेलामा उनीहरुको भ्रमणको बारेमा समस्याहरु उत्पन्न हुन्छन् । त्यस्तो बेलामा सहयोग कसरी प्रभावकारी बनाउनुपर्दछ भन्ने प्रधानमन्त्रीको धारणा छ”, डा भट्टराईले भने ।
प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय आकांक्षा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि छिमेकी देशहरुबाट भइरहेको सहयोगप्रति धन्यवाद दिएका थिए ।