arrow

'चमेलीलाई विष खुवाएर प्रहरीकै भ्यानमा राति अस्पताल पुर्याए'

logo
प्रकाशित २०७६ असार ८ आइतबार
nepal-police-Fn.png.png

काठमाडौं। रसुवा स्थायी घर भएका कमल बहादुर घले (शंकर) ले आफ्नी बहिनी चमेली घलेको नेपाल प्रहरीका हवल्दार राजेन्द्र तिवारीले हत्या गरेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा बोल्दै कमल घलेले बहिनीको हत्यामा संलग्न प्रहरी हवल्दार तिवारीलाई तत्काल अनुशन्धान गरि कारबाही गर्नुपर्ने माग गरेका छन् । उनले २०७५ साउन ३ गते तिवारीले आफ्नी बहिनीको हत्या गरेको स्पष्ट पारे ।

बहिनीको हत्या भएको विषयलाई लिएर आफूले प्रहरी प्रशासनमा किटानी जाहेरीसमेत दिएको सुनाउँदै उनले अहिलेसम्म उक्त केशमा अदालतले फैसला नगरेकोमा गुनासो पोखे । उनले भने,‘तिवारी अहिले पुर्पक्षको लागि थुनामा छ । अदालतले चाँडो भन्दा चाँडो फैसला गरेर सजाय सुनाओस् ।’ आफूले बहिनीलाई २०७५ साउन ३ गते बेलुका अन्दाजी साँढे ७ बजे काठमाडौंको ग्रिनसिटी अस्पतालमा अचेत अवस्थामा भेटेको पनि दाजुले सुनाए । 

घट्नाको प्रकृति हेर्दा तिवारीले बहिनीको हत्या गरेको भन्नेमा अस्पतालमा उपस्थित् भएका सबैको एकमत रहेको पनि उनले सुनाए । उनले भने,‘पोष्टमार्टम रिपोर्टले पनि मेरो बहिनीको हत्या भएको भन्ने प्रष्ट हुन्छ ।’ घट्ना हुनुभन्दा ९ दिन अघि मात्रै चमेलीले काठमाडौंको चावहिलमा रहेको नेपाल नारी चेतनशील संघमा पुगी आफूमाथि डर, धम्की दिएको भन्दै न्यायको लागि याचना गरेको पनि उनले सुनाए ।

बहिनीले उक्त संस्थामा ‘मलाई प्रहरी ईन्स्पेक्टर हुँ भन्दै डर, त्रास, धम्की दिईरहेको हुँदा हजुरहरुको संस्थाले पीडित नारीहरुलाई सहयोग गर्नुहुन्छ भनि सुनेर निवेदन पेश गर्न आएकी हुँ’ भनि निवेदन दिएको पत्रसमेत आफूहरुले भेटाएको मृत्तकका दाजुले सुनाए ।

उनले घट्ना घटाईएको रुम नजिकै डेरा गरि बस्ने मनिषा प्रधानको कागजअनुसार ‘घट्ना भएको राति मृतक चमेली घले बेस्सरी रुनुभयो र रुमभित्र झगडा भएको आवाज सुनियो । अरुको कोठाभित्र जान सकेनौं ।’

विभिन्न अनुसन्धानहरु गर्दै जाँदा तिवारीले बहिनीलाई सामाजिक सञ्जालमा आफू प्रहरी निरीक्षक भएको भन्दै विभिन्न डर, धम्की दिई रसुवादेखि चितवन हुँदै काठमाडौं मनमैजुस्थित् कोठामा ल्याई कुटपिट गरि शारिरिक तथा मानसिक यातना दिई तथा जबरजस्ती गरि विष खुवाएर प्रहरीकै भ्यान राति ३ बजे बोलाएर अस्पताल पुर्याएको र भर्ना गराउँदा मेरी श्रीमती हो भनेको पनि खुल्न आएको मृत्तक चमेलीका दाईको दाबी छ ।

दाई कमलका अनुसार २७ वर्षीया मृत्तक चमेली पेशाले स्थायी शिक्षिका थिईन् । उनी रसुवाको डाँडागाउ माध्यामिक विद्यालयमा निम्न माध्यमिक शिक्षक तृतिय श्रेणी पदमा कार्यरत थिईन । शिक्षण पेशाको अलावा उनी सामाजिक कार्यमा समेत सक्रिय थिईन ।

कार्यक्रममा घले समाजका केन्द्रिय अध्यक्ष तथा अधिवक्ता दिनेश घलेले चमेलीको हत्या भएको स्पष्ट पारे । उनले उक्त हत्यामा संलग्न दोषीलाई कानूनमोजिम हदैसम्मको सजाय हुनुपर्ने माग गरेका थिए ।

त्यस्तै घले समाजका महासचिव डा. जीत बहादुर घलेले पनि पीडित परिवारले न्याय पाउनुपर्ने भनाई राखेका थिए । उनले चमेलीको हत्या भएको पुष्टि भएकोले दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे ।

चमेलीका छिमेकी ठाकुरप्रसाद ढकालले लाशको प्रकृति हेर्दा शरिरभरि नील डाम देखिएकोले चमेलीको हत्या भएकै हो भनेर दाबी गरे । उनले भने,‘पीडित परिवारले न्याय पाउनुपर्छ । दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ