डोटी । पुस्तौँदेखि हलिया बस्दै आएका डोटी जिल्ला सायल गाउँपालिका–१ छपाली बिनेवाडाका ५६ वर्षीय जंगे भुल विसं २०६५ मा हलियामुक्तिको घोषणा भएपछि खुशी भएका थिए । उनले सरकारबाट केही राहत पाउने आस गरेका थिए, रोजगारीको पनि आस गरेका थिए तर उनिका लागि त्यो मुक्ति अहिले ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।
पुस्तौँदेखि हलो जोत्दासमेत उनको ऋण मिनाहा नभएपछि उनले एक पटक त साविकको छपाली गाउँ विकास समितिमा आफ्ना मालिकविरुद्ध उजुरीसमेत दिएका थिए । विसं २०६५ भदौ २१ गते सरकारले ऋण मिनाहसहितको हलिया मुक्तिको घोषणा गर्दा उनले मालिकको ऋण तिर्नु परेन । तर, उनलाई ऋण तिर्न दबाब भने पछिसम्म पनि आयो ।
पुस्तौँदेखि भूमिहीन जंगे भुलको परिवारले यसपटक मुक्त हलिया पुनःस्थापनाको सरकारी कार्यक्रमबाट घर मर्मतका लागि भन्दै रु एक लाख २५ हजार सहयोग पाउने भएका छन् । तर जंगेजस्तै भूमिहीन मुक्त हलियाले भने जग्गा खरीद र घर निर्माणका लागि भन्दै रु पाँच लाख २५ हजार पाउँदैछन् । “गाउँमा नयाँ मान्छे आएका थिए, यो घर कसको हो भनेर सोधे, मैले साहुको घरलाई मेरो हो भनेको हूँ”, जंगे भन्छन्, “मैले आफू बस्ने भएको हुँदा मेरो घर हो भनेँ तर उनीहरुले मेरै घर सोचेर ‘घ’ वर्गको परिचयपत्र बनाएछन्, अब घाटा भयो ।”
आफूलाई धेरै कुरा जानकारी नभएको र आफ्नै नाममा घरजग्गा छ कि छैन भनी कसैले नसोधेको उनि बताउछन् । उनि थप भन्छन्, “घर जग्गा दुवै भएका व्यक्तिले भूमिहीन भन्दै ‘क’ वर्गको परिचयपत्र पाएको छ भन्ने सुनेको छु, मेरा त बोलिदिने कोही भएन, अनि यसो भयो ।” उनले एउटै घरमा दुई÷तीन जनाले समेत ‘क’ वर्गको परिचयपत्र पाएको आफूले सुनेको बताउछन् ।
जंगे भुलकी जीवनसाथी हिरा भुलको निधन भएको करीब १२ वर्ष भयो । उनिका जेठा छोरा इन्द्र भुल विगत तीन वर्षदेखि सम्पर्कमा छैनन् । मानसिक सन्तुलन ठीक नभएका उनी कता छन् वा छन् कि छैनन्, त्यसबारेमा जंगे भुललाई अहिलेसम्म पनि जानकारी छैन । बाइस वर्षीया छोरी भानुमति पनि आँखा देख्दिनन् । आँखा नदेख्ने भएकै कारण उनको बिहे पनि हुनसकेको छैन । भानुमति मात्रै होइन, जंगेका कान्छा छोरा १८ वर्षीय भक्त भुल पनि आँखा देख्दैनन् । जन्मजात अपाङ्गता भएका दुवै छोराछोरीको स्याहारको जिम्मा जंगेको काँधमा छ । आफू र छोराछोरीको छाक टार्नका लागि जंगे भुल आजकल गाउँमा साँझ बिहान पानी खोल्ने बन्द गर्ने काम गर्छन्।
करीब १५० दलित परिवार रहेको उक्त बिनेवाडा गाउँको खानेपानी खोलेबापत उनिलाई वर्षको दुई पटक अन्न दिने नियम गाउँलेले बनाएका छन् । “जेठ र कात्तिकमा गरी वर्षको दुईपटक प्रतिपरिवार तीन माना अन्न दिन्छन्” स्थानीय धनबहादुर नेपालीले भने, “यसैबाट उनको गुजारा चलेको छ ।” उनलाई छोराछोरी पाल्न सजिलो होस् भनेर नै यो निर्णय गरेको नेपालीले बताउनुभयो । जंगेका भाइ ४९ वर्षीय लाले पनि अविवाहित हुन् । उनको पालनपोषणको जिम्मा पनि जंगेकै भागमा छ । ‘घ’ वर्गको परिचयपत्रका कारण आफू समस्या परेको भन्दै जंगे भुल दिनहुँ निरास हुने गर्छन् ।