बच्चैदेखि रियाल मड्रिडबाट खेल्ने सपना पूरा भयो हजार्डको, ५० हजार दर्शक अगाडि भब्य स्वागत
पाँच वर्षे सम्झौता, हप्ताको चार लाख पाउण्ड पाउने
प्रकाशित २०७६ जेठ ३१ शुक्रबार
1.7k
Shares
काठमाडौं । बेल्जियन फुटबल सुपरस्टार इडेन हजार्डलाई स्पेनिश क्लब रियाल मड्रिडले भब्यपूर्वक स्वागत गरेको छ । नयाँ खेलाडीलाई मड्रिडले ५० हजार समर्थक अगाडि भव्य स्वागत गरको हो ।
उनी गत हप्ता मात्र करिब १ सय ५० मिलियन पाउण्डमा इङलिश प्रिमियर लिग क्लब चेल्सीबाट रियाल मड्रिड आउने तय भएको थियो ।
हजार्डले मड्रिड क्लब अध्यक्ष फ्लोरोन्टिनो पेरेजसंग पाँच बर्षको सम्झौता गरेका छन् । सम्झौतापत्रमा हस्ताक्षर गरेपछि पेरेजले हजार्डलाई परिचय गराएका थिए ।
परिचयपछि आफ्ना भनाइ राख्ने क्रममा हजार्डले ‘मेरो बच्चैदेखिको सपना रियाल मड्रिडका लागि खेल्नु थियो’ भनेका छन् ।
त्यसपछि उनले जर्सीमा रहेको क्लबको ब्याचलाई चुमे, रियालको जर्सी लगाए र मैदानमा छिरे ।
हजार्डको जर्सीमा कुनै नम्बर राखिएको छैन । चेल्सी र बेल्जियमका लागि १० नम्बरको जर्सीबाट खेल्दै आएका हजार्डले अब भने ७ नम्बरको जर्सी लगाउने छन् ।
पत्रकार सम्मेलनमा उनले ठट्टा गर्दै भने, ‘मैले मजाकमा मोड्रिचलाई १० नम्बरको जर्सी छोड्न भनें उनले मानेनन्, मेरा लागि जर्सीको नम्बर महत्वपूर्ण हैन ।’
जिनेदिन जिदान क्लबको मुख्य प्रशिक्षकमा फर्किएपछि हजार्डलाई रियालमा ल्याउने प्रक्रिया सुरु भएको थियो ।