जागरण अभियानले कांग्रेसमा प्रवेश गर्नेहरुको लहर बढदो, दार्चुलामा नेकपा वडा सदस्यका दुई उम्मेदवारसहित ७५ जना कांग्रेसमा
सत्तामा नपुग्दासम्म चिल्ला कुरा गर्ने र सत्तामा पुगिसकेपछि व्यक्तिगत स्वार्थ पूरा गर्ने नीति लिने गरेकाले नेकपा छाडेर काँग्रेसमा
प्रकाश चन्द्र भट्ट
प्रकाशित २०७६ वैशाख २८ शनिबार
567
Shares
दार्चुला । पछिल्लो समय दार्चुलामा नेपाली कांग्रेसमा प्रवेशको लहर बढेको छ । नेपाली कांग्रेस दार्चुलाको आयोजनामा शनिबार दार्चुलाको दुहु गाउँपालिकाको धारीमा आयोजना गरिएको राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपा छोडेर स्थानिय तह निर्वाचनमा वडा सदस्यका २ उम्मेदवारसहित ७५ जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेमा तत्कालिन नेकपा जिल्ला कमिटि सदस्य एवं साबिकको धारी गाविसको समितिमा चार कार्यकाल सम्हालेका मान सिंह बडालसहित ५० जनाले नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको पार्टी सचिव हरक सिह विष्टले बताए ।
यस्तै वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार मोहन डडाल र राम सिंह डडाल सहित २५ जनाले एक कार्यक्रमकाबीच पार्टी प्रवेश गरेका छन् ।
नवप्रवेशीले नेकपाका नेताहरुले निर्वाचनका बेला गरेको बाचा अनुसार काम नगरेको भन्दै असन्तुष्टि समेत जनाएका छन् । नेकपाले सत्तामा नपुग्दासम्म चिल्ला कुरा गर्ने र सत्तामा पुगिसकेपछि व्यक्तिगत स्वार्थ पूरा गर्ने नीति लिने गरेको नवप्रवेशी रामसिंह डडालले आरोप लगाए ।
दुई तिहाइको वर्तमान कम्युनिष्ट सरकार जनतामुखी भन्दा पनि कार्यकर्तामुखी भएको उनीहरुको आरोप छ । यस्तै प्रदेश सभामुख निर्मला जोशी बडालले दुहु गाउँपालिकाको लागि नेकपा नेताहरुले कुनै पहल नगरेको आरोप लगाइन् ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजु खनालले सरकार संघीयताको मर्मविपरीत अगाडि बढिरहेको आरोप लगाए । उनले देशलाई सही बाटोमा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए ।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकालाई सत्ताको आडमा लिएर सरकार अगाडि बढिरहेको उनले बताए । कांग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र सामूहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउनेजस्ता कार्य गर्ने बताउँदै खनालले कम्युनिष्टका बिरुद्ध एकढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताए ।
कार्यक्रममा जिल्ला सभापति ललित सिंह बोहरा, उपसभापति ललित सिंह ठगुन्ना, प्रदेशसभा सदस्य नन्दा बम, महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्ट, दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुुर कार्की, उपाध्यक्ष इश्वरी जोशी, जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, महाधिवेशन प्रतिनिधि उमेश खत्री तथा नेविसंघ जिल्ला अध्यक्ष रमेश भट्ट लगायतले बोलेका थिए ।