जनकपुरधाम । जानकी नवमीको दिन भगवान रामजानकीको पुजा गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर आउने भएकी छन् ।
राष्ट्रपति कार्यालयले औपचारिक रुपमा कार्यक्रम सार्वजनिक नगरेपनि सुरक्षा अधिकारीहरुका अनुसार सोमवार विहान १० बजे उनी हेलिकोप्टरबाट जनकपुर आउने कार्यक्रम छ । जानकी नवमीको अवसरमा जानकी मन्दिरले विशेष कार्यक्रमहरुको आयोजना गरेको छ ।
रामजानकी विवाहमहोत्सवको अवसरमा भव्य कार्यक्रम र रामनवमीमा समेत यहाँ विशेष कार्यक्रम हुने गरेको छ । केहि वर्षदेखि जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी नवमीलाई १५ दिवसिय विविध कार्यक्रमहरुको आयोजना गरी मनाउन थालेका हुन् ।नवरात्रा देखि छठिहार(न्वारण)सम्मको कार्यक्रम समावेश गरिएको छ ।
जानकी नवमीको अवसरमा पहिलो पटक देशको राष्ट्रपति सरिक हुन थालेकी छन् । उनी विहान मन्दिरमा पुजा गरी फर्किने बताइएको छ ।
‘राष्ट्रपति कार्यालयबाट राष्ट्रपति जनकपुर सवारी हुने जानकारी आएको छ’ धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेंलले भने, ‘मन्दिरमा पुजाको कार्यक्रम रहेकाले त्यस अनुसारको तयारी थालिएको छ ।
नेपाल सरकारबाट पूर्ण रुपमा उपेक्षित जानकी मन्दिरमा गत वर्ष वैशाख महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वागत गरेका थिए ।
उनी २०७२ साल पुस १ गते रामजानकी विवाहमहोत्सवमा पहिलो पटक राष्ट्रपति भण्डारी आएकी थिईन् ।त्यस बखत मधेशी आन्दोलनकारीहरुले विरोध गरेका थिए ।