विवाहको सामान लिएर फर्किएको जीप दुर्घटनामा सहचालको मृत्यु, मालिक रहेका चालक फरार
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख १९ बिहिबार
215
Shares
बझाङ। बझाङ थलारा गाउँपालिकामा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधबार राती करिब ९ बजेतिर दुर्घटना हुदा थलारा गाउँपालिका वडा नं ५ का जीपका सहचालक १९ बर्षिया टिका भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
थलारा गाउँपालिकाको दुवालीबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भट्टराईसँगै जीपमा रहेका जीप चालक कमल साउँद भने फरार रहेका छन् ।
साउँद जीप मालिक पनि रहेको र उनको खोजी भई रहेको प्रहरी नायब उपरिक्षक सुर्य केसीले जानकारी दिए । मृतक भट्टराईको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल सिमखेत ल्याउने काम भईरहेको समेत उपरिक्षक केसीले बताए ।
मृतकका आफन्तहरुले क्षतीपुर्तीको माग समेत गरि रहेका छन् । उनिहरुले क्षतीपूर्ती नदिए शव समेत नबुझ्ने बताउदै आएका छन् । थलारा गाउँपालिका ५ का वडा अध्यक्ष दिर्घराज जोशीले भने, 'जीप मालिक फरार रहेकाले मृतकका आफन्त संग क्षतीपुर्तीको कुराका बारेमा सहमति हुन सकेको छैन् तर शवलाई पोष्टमार्टम गर्न सहमतीको भएको छ।'
पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बढेको छ । यही बैशाखको ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । त्यसैगरि खप्तड छान्ना गाउँपालिकामा समेत जन्ती बोकेको जीप दर्घटना हुदा एक जनाको ज्यान गएको थियो भने सात जना घाईते भएका थिए ।