काठमाडौं। च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती स्पेनिस लिग विजेता बार्सिलोना तथा इङ्गलिस महारथी लिभरपुल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भिड्दैछन्। नेपाली समय अनुशार रातको १२:४५ बाट सुरु हुने उक्त खेलमा विश्वभरका फुटबलप्रेमीको नजर हुनेछ।
लियोनल मेस्सीको कप्तानीमा मैदानमा उत्रने क्याटलियन क्लव आफ्नो समर्थकको फाइदा उठाउदै खेलमा आफ्नो पकड बनाउदै प्रभावशाली जित हासिल गर्ने दाउमा रहेको छ। यता पाहुना टोली पनि घरेलु समर्थकको अगाडी बार्सालाई स्तब्ध बनाउदै नतिजा आफ्नो पक्षमा पार्ने होडमा हुनेछ। फाइनल अगाडीको फाइनल खेलको रुपमा हेरिएको यो लेगको बिजेता टोलीले फाइनलमा तुलनात्मक रुपमा सजिलो टोलिको सामाना गर्नेछन।
आफ्मो घरेलु मैदानमा पछिल्लो ३१ खेलमा अपराजित रहेको बार्सिलोना तुलनात्मक रुपमा लेगको पहिलो खेलमा बलियो देखिन्छ। मेस्सी,स्वारेज,तथा काउन्टिन्हो जस्ता खेलाडी सम्मिलित घरेलु टोली लिभरपुल बिरुद्द निश्चित जितको खोजीमा हुनेछ भने यता लिभरपुल बराबरी वा साँघुरो गोलअन्तरको हारमा समेत निराश रहने छैन। किनभने मे ८ मा एनफिल्डमा हुने दोस्रो लेगमा नतिजा उल्ट्याउदै आफ्नो पक्षमा पार्न सक्ने माने,सलाह,फर्मिन्हो जस्ता खेलाडी लिभरपुलसँग रहेका छन्।
हेड टु हेड
यि दुई टोलीबीच भएको पछिल्ला पाँच खेलमा दुबै टोलिले समान दुई खेल जितेका छन भने एक खेल बराबरीमा सकिएको छ।
प्लेयर्स टु वाच मोहमद सलाह
जारी सिजन लिभरपुललाई प्रिमियर लिगको उपाधि होडमा कायम राख्ने क्रममा २१ गोल तथा ८ गोलका लागि पास मिलाउदै महत्वपुर्ण भुमिका खेलिरहेका इजिप्टियन फरवार्ड मोहमद सलाहले यो पटकको लिभरपुलको च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रामा १० खेलमा ४ गोल गरिसकेका छन्। क्वाटर्फाइनलमा पोर्टो विरुद्द समग्रमा ६-१ को जित निकाल्दा उनको १ गोलको योगदान रहेको थियो। जारी च्याम्पियन्स लिगमा खासै प्रभावशाली प्रदर्शन नरहेता पनि उनि लिभरपुलका मुख्य हतियार रहेका छन्। यदि आजको खेलमा उनले आफ्नो पुर्ण क्षमता देखाउन सक्ने हो भने क्याम्प नोउमा लिभरपुलले अप्रयासित नतिजा निकाल्न सक्ने छ।
लियोनल मेस्सी
यो सिजन आफ्नो कलात्मक प्रदर्शनका साथै प्रेरणदायी कप्तानीबाट बार्सिलोनालाई ३ खेल अगावै ला लिगा उपाधि तथा कोपा डेल रे को फाइनलमा पुर्याएका मेस्सीले जारी सिजनमा बार्सिलोनाका लागि ४४ खेलमा ४६ गोलका साथै १५ पटक गोलका लागि पास उपलब्ध गराएका छन। जसमध्ये च्याम्पियन्स लिगका ८ खेलमा १० गोल सामेल रहेको छ। यस आकँडाबाटै उनी बार्सिलोनाकालागि कति महत्वपुर्ण खेलाडी हुन् भन्ने जान्न सकिन्छ। क्वाटरफाइनलको दोस्रो लेगमा प्रिमियर लिगको अर्को टोली म्यानचेष्टर युनाइटेडलाई ३-० ले पराजित गर्दा महत्वपुर्ण २ गोल गरेका मेस्सी बार्सिलोनाबाट खेल्न मैदानमा उत्रँदा मात्रै पनि बार्सिलोनाको खेल्ने शैलीमा फरक पर्ने फुटबल पण्डितहरु बताउने गर्दछन्। मेस्सीले आफ्नो स्वभाविक खेल खेलेमा घरेलु टोलीले लिभरपुल बिरुद्द ठूलो नतिजाको जित समेत दर्ता गर्न सक्नेछ।