पहिलो क्रिकेट विश्वकप उपाधि जित्न सक्ला त दक्षिण अफ्रिकाले ?
हाम्राकुरा डेस्क,
प्रकाशित २०७६ वैशाख १० मंगलबार
400
Shares
काठमाडौं । मे ३० देखि इंगल्याण्डमा एकदिवसीय क्रिकेटको विश्वकप शुरु हुँदैछ । यो विश्वकपका लागि विभिन्न मुलुकले आफ्नो तयारी पनि शुरु गरिसकेका छन् । यस्तोमा दक्षिण अफ्रिका पनि उपाधि ल्याउने लक्ष्यका साथमा विश्वकपको तयारीमा जुटेको छ ।
सन् १९९२को अफ्रिकाले खेलेको पहिलो बिश्वकपमा सेमीफाईनलबाट बाहिरिएको थियो। पानीले रोकिएको खेलमा अन्तिममा १ बलमा २२ रन बानउनु पर्ने स्थिती आएको थियो। त्यसपछि क्रिकेटमा पानीको अवरोधका लागि डकवर्थ-लेविस नियम ल्याईएको थियो।
तयसैगरि सन् १९९९, २००७ र २०१५ गरि चार पटक सेमीफाईनल पुगेको अफ्रिकाले कहिल्यै फाईनल खेलेको छैन्। सन् १९९६ र २०११मा क्वार्टरफाईनलबाट बाहिरिएको थियो अफ्रिकाको टोली।
यसरी राम्रो क्रिकेट खेल्ने टोली भएर पनि उपाधि हात नपारेकोमा अफ्रिकन टोलीलाई ‘चोकर’ पनि भनिन्छ । राम्रो खेलिरहँदा खास मौकामा आएर खेल गामउने हुनाले चोकर उपनाम पाएको छ। यो उपनामको दाग मे यो विश्वकपमा मेटाउने छ भन्ने प्रशंसकहरे विश्वास गरेका छन्।
सन् २०१९ विश्वकपका लागि उसले १५ सदस्यीय टोलीको घोषणा पनि गरिसकेको छ । एकदिवसीय वरीयतामा रहेको यो टोलीलाई अभागी टोली पनि भनिने गरिएको छ । के यसपटकको विश्वकपमा दक्षिण अफ्रिकाले आफूलाई साबित गर्न सक्ला त ?
दक्षिण अफ्रिकाको टोलीमा रहेका इमरान ताहिर र कागिसो रबाडा एकदिवसीय क्रिकेटमा चौथो र पाँचौं उत्कृष्ट बलर हुन् । उत्कृष्ट ६ मा दक्षिण अफ्रिकाबाहेक कुनै पनि मुलुकका दुईओटा खेलाडी समावेश छैनन् ।
ब्याटिङमा क्विन्टन डि कक र फाफ डु प्लेसिस सोही अवस्थामा छन् । दक्षिण अफ्रिकापछि भारतका मात्र दुई खेलाडी प्रमुख ७ भित्र अटाएका छन् । यदि यी चार खेलाडीले यो विश्वकपमा आफ्नो प्रभाव देखाउने हो भने दक्षिण अफ्रिकाको लागि यो विश्वकप महत्वपूर्ण मौका बन्न सक्छ । तर, सेमीफाईनल अघिको ९ खेल र दुई नकआउट खेलमा एउटै फर्म कायम राख्नु खेलाडीहरुलाई चुनौती हुनसक्छ ।
दक्षिण अफ्रिकाको स्क्वाडमा विकेटकिपरको विषय निकै महत्वपूर्ण देखिन्छ । यो टोलीमा एकमात्र विकेटकिपर हुनु एक समस्या हो । यसअघि यो टोलीका विकेटकिपर एबीडी भिलियर्सको सट्टामा क्विन्टन डि कक भरपर्दो विकेटकिपर थिए । तर, उनीपछि अहिले डि कक मात्र विकेटकिपर छन् । उनको विकल्पमा डेभिड मिलरले विकेटकिपिङको काम गर्नुपर्ने हुन्छ । श्रीलंकासँगको टी–२० मा उनले विकेट किपिङ गरेका थिए । तर, उनको विकेट किपिङको प्रदर्शन राम्रो भने रहन सकेको थिएन । यसले दक्षिण अफ्रिकाको टोलीमा समस्या ल्याउनसक्ने बताइएको छ ।
दक्षिण अफ्रिकाको लागि तल्लो क्रमको अर्डर भने केही कमजोर देखिएको छ । यसले यो टोलीमा केही समस्या सिर्जना गर्न सक्छ । तर, जेपी ढुमिनी स्वस्थ हुनु यो टोलीको लागि केही खुसीको कुरा हो । तल्लो क्रममा देखिने समस्याले उनले सन्तुलनमा ल्याउन सक्छन् ।
आगामी विश्वकपका लागि सार्वजनिक गरिएको स्क्वाडका ८ खेलाडीले डेब्यु गर्नेछन् । उनीहरुका लागि यो प्रतियोगितामा अुनभवको कमी देखिनसक्छ । टोलीमा रहेका फाफ डु प्लेसिस, हासिम अमला, डेभिड मिलर, जेपी डुमिनी, क्विन्टन डि कक, डेल स्टेन, इमरान ताहिर, कागिसो रबाडाजस्ता खेलाडी दक्षिण अफ्रिकाको लागि यो विश्वकपमा निकै महत्वपूर्ण हुनेछन् ।