वर्ल्ड बुक अफ रेकर्डको प्रमाणपत्र सक्कली नै, अफवाहको खण्डन [प्रमाणसहित]
प्रकाशित २०७६ वैशाख ४ बुधबार
749
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा नक्कली प्रमाणपत्र वितरण गरेको भन्ने समाचारको वर्ल्ड बुक अफ रेकर्डले खण्डन गरेको छ ।
विज्ञप्ति जारी गर्दै वर्ल्ड बुक अफ रेकर्डले प्रधानमन्त्रीओलीसहित पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा समता स्कुललाई हस्तान्तरण गरेको ‘वर्ल्ड बुक अफ रेकर्ड’ डब्लुबिआर प्रमाणपत्र सक्कली रहेको जनाएको हो ।
वर्ल्ड बुक अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटवालद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘समता स्कुललाई वर्ल्ड बुक अफ रेकर्ड, लण्डन ले “शिशु कक्षादेखि स्नातकोत्तरसम्म न्युनतम शुल्क (मासिक १ डलर) मा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था” शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा पुर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल एवं माधवकुमार नेपालको संयुक्त बाहुलीबाट प्रदान गरेको प्रमाण–पत्रलाई लिएर केही सञ्चार माध्यमले नक्कली हो भनी निराधार रुपमा यस अन्तर्राष्टिय संस्थाको गरिमामा आँच आउने प्रकारको कपोकल्पित समाचार सम्प्रेषण गरेको प्रति यस संस्थाको गम्भिर ध्यानाकार्षण भएको छ । यसले संस्थाको मान र प्रतिष्ठामा नकारात्मक असर परेकाले त्यसप्रति हामी खेद प्रकट गर्दछौँ ।’
प्रमाणपत्रमा सन्तोष शुक्लाको नामलाई लिएर चर्चा सुरु भएको थियो । शुक्ला भारतको सर्वोच्च अदालतमा साइवर सेक्युरिटिज सम्बन्धिका वकिल हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अपुष्ट समाचारहरु सम्प्रेषण हुँदा सर्वसाधारणमा भ्रामक सन्देश प्रवाह भएकोले भ्रामक समाचार सम्प्रेषण नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गर्दै पत्रकारिताको आचारसंहिताको परिधिमा रहेर सत्य तथ्य कुराहरुमात्र सम्प्रेषण गर्न ध्यानाकर्षण गराउदछौँ ।’
के हो वर्ल्ड बुक्स् अफ रेकर्ड
वर्ल्ड बुक्स् अफ रेकर्ड विश्वव्यापी रुपमा बैज्ञानिक आधारमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यस संस्थाले बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत, मरिसियसमा कानुनतः दर्ता भई आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।
आधिकारिक प्रतिनिधि मार्फत विश्वव्यापी रुपमा वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिक लगायत क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।
यो संस्थाले पशुपतिनाथको मन्दिरलाई पनि सम्मानित गरेको छ ।