स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकियो बस : तीनको मृत्यु, ३१ घाइते
प्रकाशित २०७६ वैशाख १ आइतबार
325
Shares
सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१ उष्ण प्रदेशीय बागवानी नजीक आज बिहान बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ३१ घाइते भएका छन् ।
मृत्यु हुनेमा सुनसरी जिल्ला रामधुनी नगरपालिका–९ का ५० वर्षीय श्रीकान्त चौधरी, सुनसरीकै छेटाहा गाउँपालिकाका २३ वर्षीय अनिल उराउ र मोरङ जिल्ला बुरही गाउँपालिका–६ का २५ वर्षीय बबली उराउ रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गरेर बा३ख १३१८ नंको बस रिजर्भ गरेर घर फर्किंदै गर्दा आज बिहान साढे ४ बजे उनीहरु दुर्घटनामा परेका हुन् । दुर्घटना तीव्र गतिका कारण भएको जिल्ला प्रहरी ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए। तीव्र गतिमा रहेको बसको स्टेरिङ मोड्दा सडक छेउको रूखमा ठोकिन गई दुर्घटना भएको उनले बताए।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।