काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले विकासको नाममा यो सरकारले तल्लो तहसम्म भ्रष्टाचार विस्तार गरेको आरोप लगाएका छन् । शनिबार नेपाल प्रेस युनियन ओखलढुंगाद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता लेखकले सरकारप्रति देशभर नैराश्यता छाएको दाबी समेत गरे । नेता लेखकले सरकारका काम कारबाहीबाट जनता आजित भैसकेकोले सरकार सम्पूर्णतामा असफल भइसकेको दाबी समेत गरे ।
महालेखाको प्रतिवेदन अनुसार अघिल्लो वर्षको तुलनामा बेरुजु बढेको र खर्चमा अनियमितता भएको भन्दै आर्थिक अनियमितता र भ्रष्ट्राचारमा सरकार लिप्त रहेको आरोप समेत लगाए । विकासको नाममा तल्लो तहसम्म नै भ्रष्टाचार भएको भन्दै नेता लेखकले उपभोक्ता समिति मार्फत् काम गर्न लगाएर सरकारले भ्रष्ट्राचार संस्थागत गरेको आरोप समेत लगाए ।
विश्वबाट हराईसकेको कम्युनिस्ट बिचार नेपालबाट पनि हराउँदै जाने भन्दै लेखकले विकास र समृद्धिको नारा दिएर जनताहरुलाई कम्युनिष्टहरुले भ्रम छर्नेगरेको आरोप लगाए । फर्सी कुहिए जस्तै यो सरकार पनि आफै ढल्ने भन्दै उनले सरकारसँगै जनताले बलिदान गरेर ल्याएको ब्यवस्था पनि कम्युनिस्टका कारण जान्छ कि भन्ने चिन्ता पनि व्यक्त गरे ।
राष्ट्रिय निराशालाई काँग्रेसले मात्र आशावादी बनाउन सक्ने उनको दाबी थियो। आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने समेत दाबी गरे ।