काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सीमामा भईरहेको अवरोधले अत्यावश्यकीय सामग्रीको अभाव भएर नेपालमा ठूलो मानवीय संकट उत्पन्न भएको बताएका छन् । जेनेभामा नेपालमा मानव अधिकारको अवस्थाबारेको समिक्षा बैठकमा बोल्दै उनले भूपरिवेष्ठित मुलुकको नाताले नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकारको उपभोगमा सीमाको अवरोधले बाधा गरिरहेको उल्लेख गरेका हुन् ।
‘जुनसुकै कारण देखाउँदै होस् सीमा विन्दुमा भइरहेका अवरोधहरुले भूपरिवेष्ठित मुलुकको रुपमा अन्तर्राष्ट्रिय कानुनले नेपाललाई दिएको अधिकार उपयोग गर्नबाट गम्भीर रुपले असर पारेको छ।’ भारतको नाम नलिई उनले भनेका छन्, ‘हामी वार्ताबाट समस्याको समाधानमा लागिरहँदा सिमा निरन्तररूपमा गरिएको अवरोधले भुपरिवेष्ठित राष्ट्रका रुपमा नेपालले उपभोग गर्न पाउने अन्तराष्ट्रिय रुपमा प्राप्त अधिकार र स्वतनत्रताको गम्भिर ढंगले हनन भएको छ। दशक लामो दन्वद हुँदै लामो राजनीतिक परिवर्तन गरेर भूकम्पको विनाशबाट अन्तराष्ट्रिय समुदायको सहयोगमा पूनस्निर्माण गर्दै स्थितिलाई सामान्यकरण क्रममा रहेको देश र यसका जनता वर्तमान समय निक्कै नै पिडादायी रहेको छ।’
थापाले नेपालले कुनै पनि समस्या आफै शान्तिपूर्ण माध्यमबाट हल गर्न सक्नेमा विश्वस्त रहेको जनाउँदै आन्तरिक प्रक्रियामा कुनै पनि माध्यमबाट हुने बाह्य हस्तक्षेपले समस्यालाई अझ बल्झाउने जनाए ।
थापाले तराईमा आन्दोलनरत मधेशी दलहरुसँग वार्ता भईरहेको जनाउँदै चाँडै नै समस्याको समाधान हुने आशा व्यक्त गरे । उनले देशको वर्तमान अवस्थाले देशमा मानव अधिकारको क्षेत्रमा अगाडी बढ्न अवरोध गरिरहेको बताएका थिए।