arrow

मानव तस्करी र श्रम शोषण गर्ने नेपाली रेस्टुरेन्टमा ग्राहकहरु जानै छाडे

logo
प्रकाशित २०७५ चैत २० बुधबार
Finland_nepali.JPG

काठमाडौं । फिनल्याण्डमा श्रम शोषण र मानव तस्करीको आरोप लागेका नेपालीले सञ्चालनमा ल्याएको रेष्टुरेन्टहरु सुनसान बन्न थालेका छन् । त्यहाँको अनुुसन्धान संस्थाको समेत निगरानीमा परेका ती रेष्टुरेन्टहरुमा अहिले ग्राहकहरु नै जान छाडेको मिडिया रिपोर्टमा उल्लेख छ । 

नेपालीहरुले सञ्चालन गरेको तीन संस्थाहरुमा अहिले मानिसहरु जानै छाडेका हुन् । यसरी मानव तस्करीको आरोप लागेका तीनवटै संस्थाहरु सुनसान प्रायः रहेका छन् भने बाँकी श्रम शोषण भएको भनिएका सबै रेष्टुरेन्टहरुमा नेपाली र बाहिरका पनि नेपाली खाना मनपराउनेहरु जान छाडेका हुन् । यस्तो गलत कामको भण्डाफोर भएपछि नेपाली खाना मन पराउने फिनल्याण्डका ग्राहक रेष्टुरेन्ट जान छाडेका छन् ।

त्यहाँको स्थानीय पत्रिकाले तयार पारेको ३७ पृष्ठ लामो रिपोर्टमा गुल्मीका देवी शर्माको हिमालय रेष्टुरेन्ट, हेमराज शर्माको माउन्ट एभरेष्ट रेष्टुरेन्ट र राम अर्यालको सत्कार रेष्टुरेन्टहरुमाथि अहिले तीब्र छानविन भईरहेको छ । देवी शर्माको नाममा मात्रै हिमालय रेष्टुरेन्टबाहेक पनि लालीगुराँस, गोर्खा र यति नेपाल नामका रेष्टुरेन्टहरु रहेका छन् । ती तीनैजना गुल्मी स्थायी घर भएकाहरु हुन् । 

फिनल्याण्डको चर्चित पत्रिका हेल्सिङ्गिन सानोम्याटले तयार पारेको एक रिपोर्टमा नेपाली रेष्टुरेन्टहरुमा कैयौं नेपाली र अन्य देशका कामदारहरु समेत शोषणमा परेको तथ्य फेला परेको थियो । सो पत्रिकाले तयार पारेको रिपोर्टमाथि अनुसन्धान गर्दा सो तथ्य सही रहेको त्यहाँको अनुसन्धान संस्थाले ठहर गरेको छ । फिनल्याण्डको नेशनल ब्यूरो अफ इन्भेसिटगेसनका विशेष अनुसन्धानकर्ता तुईजा हेटानिमीका अनुसार फिनल्याण्ड आउनको लागि विभिन्न देशका मानिसहरुले चर्को धनराशी खर्च गर्ने गरेका छन् । तर, यी रेस्टुरेन्टहरुमा कम मूल्यमा चर्को श्रम गराएर शोषणा भईरहको छ । यसबारे बोल्न पनि कामदारहरु त्रसित हुने गरेको उनले बताएका छन् ।  

विभिन्न नेपाली रेष्टुरेन्टहरुमा १६ घण्टासम्म कामदारहरुलाई निरन्तर काममा लगाउने र न्यून पारिश्रमिक दिने गरेको तथ्य फेला परेपछि त्यहाँको सरकारले समेत यसमा चासो देखाएको छ । त्यहाँ जाने नेपालीहरुलाई मासिक १८ सय युरोमा १५ दिनको २५० घण्टादेखि ३०० घण्टासम्म काममा लगाउने गरेको भेटिएको छ । अहिले फिनल्याण्डको रेस्टुरेन्ट क्षेत्रका कामदारहरुको श्रमको दर मासिक आम्दानी ३५ सय युरो भन्दा धेरै छ । तर, नेपाली रेस्टुरेन्टहरुमा काम गर्नेलाई भने १६ देखि २० घण्टासम्म काममा खटाएर जम्मा मासिक १८ सय युरो मात्रै तलब दिने गरेको समेत भेटिएको हो । यसरी पैसा दिँदा बैंकबाट दिनुपर्ने प्रावधान रहेकोले ती रेष्टुृरेन्ट सञ्चालकहरुले आफैंले चलाएको बैंक खातामा धेरै पैसा पठाउने र ती कामदारहरुलाई नगद मारिश्रमिक दिने गरेका छन् । 

फिनिस हस्पिटालिटी एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत तिमो लाप्पीले नेपाली रेष्टुरेन्टहरुले सरकारी नियमको खिल्ली उडाएको भेटिएको जानकारी दिएका छन् । अहिले सो विषयमा त्यहाँको अनुसन्धान संस्थाले थप अनुसन्धान गरिरहेको छ । ती रेष्टुरेन्टहरु छाडेर गएका कामदारहरुले सो विषयमा गुनासो गरेका थिए । सोही गुनासो पछि त्यहाँको पत्रिकाले त्यसबारे रिपोर्ट बनाएको थियो । त्यसपछि अनुसन्धान संस्थाले पनि सक्रियता देखाएको छ र त्यो मुद्दा अहिले एनबीआईले हेरिरहेको छ । 

नेपालबाट र विभिन्न देशहरुबाट मानव तस्करी गरी ती रेस्टुरेन्टहरुमा कामदार पठाईने गरेको समेत अनुसन्धानको क्रममा भेटिएको छ । अनुसन्धानको क्रममा १०० जना भन्दा बढी मानिसहरुलाई तस्करी गरी वेटर र भुईँ पुछ्ने काममा लगाएको भेटिएको छ । मानव तस्करीको बारेमा थप अनुसन्धान भईरहेको पनि त्यहाँको एनबीआईले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ