काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जमीन बाँझो राख्ने व्यक्तिलाई कारवाही गरिने बताएका छन् ।
एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा जिल्लास्थित पुनःनिर्माण प्राधिकरणद्वारा तेमाल गाउँपालिका–७ चाँपाखोरीमा राधाकृष्ण माध्यमिक विद्यालयको रु चार करोड ४० लाखमा निर्मित दुईतले दुईवटा भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा मन्त्री बाँस्कोटाले सो विचार व्यक्त गरेका हुन् ।
सञ्चार मन्त्री बाँस्कोटाले भने, “जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्छ, आफ्नो बाँझो रहेको जमीन उत्पादनमूलक बाली लगाउनुस् ।” उनले एक सय रोपनीभन्दा बढी जमीन बाँझो राख्नेलाई सरकारले कारवाही गर्ने बताएका हुन् ।
“जमीन बाँझो राख्नेलाई कारवाही गर्न जमीन ऐन तयार भैइसक्यो”, उनले थपे, “जमीनमा उत्पादनमूलक व्यावसायिक खेती गर्न सरकारले यस्तो नीति ल्याएको हो ।” उनले व्यावसायिक खेती एवं पशुपालन गर्नेलाई सरकारले कृषि सहकारीमार्फत ऋण सहयोग गर्ने बताए ।
मन्त्री बाँस्कोटाले एक वर्षभित्र सामुदायिक माविलाई प्रविधिमैत्री बनाइने बताए । उनले भने, “सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीले एक वर्षभित्र आफ्ना पाठ्यक्रम कम्प्युटरमार्फत पढ्न पाउने वातावरण तयार गर्छौँ ।”
मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा तीनवटै सरकारले विकासका लागि ग्रामीण भेगमै बजेट लगाउने भएकाले प्राथमिकताका आधारमा विकासका काम थालिएको बताउँदै सोहीअनुरुप स्थानीय तहले आवश्यकतालाई मध्यनजर गरी बजेट विनियोजन गर्न आग्रह गरे । उनले भने, “जताततै सडक नखनौँ, प्राथमिकतामा एउटा योजना बनाएर त्यसैलाई गुणस्तर बनाउनुपर्छ, हामीले दिगो विकास चाहेका हौँ, क्षणिक हैन ।”
मन्त्री बाँस्कोटाले ६२औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मंगलबार बनेपामा आयोजित शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमा बोल्दै सरकारले तीन वर्षसम्म ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताए ।
उनले भने, “समुदायसँग प्रत्यक्ष जोडिएको कृषि सहकारीलाई सरकारले ठूलो मात्रामा ऋण लगानी गर्छ, कृषिको उत्पादन, व्यावसायीकरण, आधुनिकीकरणतर्फ जानुपर्नेमा हामी लाग्नुपर्छ।”