विप्लव निकट शिक्षक संगठनका अध्यक्ष रामजी आचार्य पक्राउ
प्रदीप आचार्य,
प्रकाशित २०७५ चैत १३ बुधबार
985
Shares
बुटवल । प्रहरीले अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यलाई पक्राउ गरेको छ । रुपन्देहीको सुर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक आचार्यलाई आज दिउँसो कञ्चन गाउपालिकाको रुद्रपुर स्थित निवासबाट प्रहरीले पक्राउ गरेको संगठनका केन्द्रिय अध्यक्ष घनश्याम पाठकले जानकारी दिए।
एसईई परिक्षाको सहायक केन्द्राध्यक्ष समेत रहेका आचार्यलाई बिना सर्त रिहा गर्न संगठनका केन्द्रिय अध्यक्ष पाठकले माग गरेका छन् । उनले संगठन नेपाल सरकारको श्रम मन्त्रालयमा दर्ता भएको आधिकारीक टेड युनियन भएकाले बिना कारण पक्राउ गर्न नमिल्ने बताए ।
नेत्रविक्रम चन्द (विप्लव) समूह निकट रहेका आचार्य पक्राउका सम्बन्धमा प्रहरीले औपचारिक जानकारी दिएको छैन । रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले मोवाइल फोन उठाएनन् । पटक पटकक सम्पर्क गर्न खोज्दा उनले आफु बैठकमा भएकाले मोबाइल उठाउन नसकेको म्यासेज गरे।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले प्रहरीबाट आफुलाई पक्राउका सम्बन्धमा जानकारी नआएको बताए । चन्द समूहलाई सरकारले प्रतिबन्ध लगाएसँगै प्रहरीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गर्न थालेको छ ।