मजदुरको जति पनि तलब नपाउने शिक्षक शिक्षिकाहरुको समस्या कसले बुझिदिने ?
शंकर के सी,
प्रकाशित २०७५ चैत ११ सोमबार
900
Shares
सल्यान । बालबालिकाको भविष्य बनाउनको लागि आफ्नो भविष्य दाउमा राखेर काम गर्दै आएका बालविकासका शिक्षक शिक्षिकाहरुको तलब सामान्य ज्याला मजदुरी गर्नेहरुको जति पनि नभएकोप्रति आफुहरु गम्भीर रहेको कर्णालि प्रदेश गाउँपालिका महासंघका अध्यक्ष भिम बहादुर सेनले बताएका छन् ।
आइतबार सल्यान कपुरकोटमा आयोजित नेपाल बाल शिक्षकहरुको प्रथम पालिका स्तरिय भेलालाइ सम्बोधन गर्दै उनले सबै स्थानीय तहले बाल विकासका शिक्षकहरुलाइ सहयोग पुग्ने कार्यक्रमहरु बनाउनुपर्नेमा जोड दिए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले बालविकास केन्द्र शिक्षाको प्रमुख आधार भएकाले स्थानीय सरकारले बालविकास केन्द्रको विकासका लागि आवश्यक पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ सल्यानका अध्यक्ष मधुसुदन गिरी, कपुरकोट ४ का वडाध्यक्ष हरिलाल पुन, बाल विकास समितीका केन्द्रीय सदस्य रीता ओली लगाएतले बोल्दै बाल विकास केन्द्रमा शैक्षिक सामग्रीको अभाव हुन नहुने कुरामा पनि जोड दिएका थिए ।
बाल शिक्षक समितीका सल्यान जिल्ला अध्यक्ष चन्द्र प्रभा पुरी (शाह) को अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बाल शिक्षक चन्द्रा डाँगी, कल्पना घर्तीले देशभरीका बालविकासमा अध्यापन गराउने शिक्षकहरुको तलब वृद्वि लगायतका अन्य सेवा सुविधाहरु वृद्वि गर्नका लागि सरकारसँग अनुरोध गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष घर्ती, शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम कुमार के सी, नेपाल राष्ट्रिय शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी, विद्यालय कर्मचारि परिषद कपुरकोटका अध्यक्ष प्रमोद खड्का लगाएतको सहभागीता थियो ।