'गिरिजाबाबु आइतबार घरबाट साइकल लिएर निस्किएपछि शुक्रबार मात्रै घर पुग्नुहुन्थ्यो'
प्रकाशित २०७५ चैत ७ बिहिबार
905
Shares
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीलाई उच्च स्थानमा पुर्याउनमा स्व गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण योगदान रहेको बताएका छन् । ‘जीपी कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट’ चितवनले कोइरालाको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक विचार गोष्ठीमा उनले स्व कोइरालाले पार्टीमा पुर्याएको योगदानको चर्चा गरेका हुन् ।
महामन्त्री कोइरालाले भने, “पार्टीलाई विस्तार गरेर उच्च स्थानमा पुर्याउनुमा स्व गिरिजाप्रसाद कोइरालाको योगदान रहेको छ ।” पार्टीका लागि आफ्नो सम्पूर्ण समय उनले दिने गरेको चर्चा गर्दै महामन्त्री कोइरालाले भने, “उहाँ आइतबार घरबाट साइकल लिएर निस्किएपछि शुक्रबार मात्रै घर पुग्नुहुन्थ्यो ।” आफ्ना काका गिरिजाप्रसादले मोरङ, सुनसरी लगायतका जिल्ला साइकलमा नै पुग्ने गरेको उनले बताए ।
नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान गिरिजाबाबुको रहेको भन्दै उनले उहाँका सपना पूरा गर्न कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए।
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले गिरिजाप्रसाद कोइरालाको चर्चा गर्दै पार्टीभित्र मेलमिलाप गर्नु जरुरी रहेको बताउनुभयो । पार्टीभित्रको सिण्डिकेट हट्नुपर्ने भन्दै उहाँले दुवै खालका बहस गरेर पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरे, कृष्णलाल सापकोटा, तोपमान सिंह गुरुङ्, इच्छाकामना गाउँपालिका अध्यक्ष गीता गुरुङ, आयोजक संस्थाका संयोजक कमल आचार्य, सहसंयोजक प्रमोदकुमार श्रेष्ठ लगायतले स्व कोइरालाको योगदानको उच्च मूल्याङ्कन गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्नेमा जोड दिए।
नेपाली कांग्रेस चितवनका सदस्य डा ईश्वरीप्रसाद लौडारीले ‘लोकतन्त्र, शान्ति तथा विकास र गिरिजाबाबु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।