काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले आफू गुट तथा उपगुटको पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले भने,‘पार्टीका आन्तरिक कुराहरु बाहिर धेरै गर्न जरुरी छैन, म गुटको पक्षमा छैन ।’
हालै बसेको केन्द्रिय समितिको बैठकले अनुशासनलगायत विभिन्न समितिका संयोजक तथा सदस्यहरु चयन गरेकोप्रति टिप्पणी गर्दै उनले भने,‘जिम्मेवारी दिँदा गुण र दोषको आधारमा दिने हो, उसको पृष्ठभुमि हेरेर दिने हो, अहिले जे निर्णय भएको छ, त्यो बेष्ट होईन, तेरो र मेरो भनेर निर्णय गरिएको छ, यो मात्रै पर्याप्त छैन् । तर, लामो समयपछि निर्णय भएको छ, यो सकारात्मक छ।’
उनले गुटभन्दा माथि उठेर पार्टीलाई चलाउनुपर्ने धारणा राखे । उनले भने,‘सरकारले यति धेरै गल्तीहरु गरिरहेको छ, यसमा प्रतिपक्षीको भुमिका प्रभावकारी हुनुपर्दथ्यो । तर, हुन सकेको छ्रैन् । यो दुःखदायी कुरा हो।’ त्यस्तै उनले पार्टीको महासमिति बैठक र जिल्ला सभापतिहरुको कुरालाई पार्टी नेतृत्वले तत्काल सम्बोधन र कदर गर्नुपर्ने पनि जोड दिए ।