काठमाडौं । आइतबारदेखि सिरहाको लहानमा जारी सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठकमा छलफल भइरहेको छ ।
राउतले सरकारसंग गरेका ११ बुँदे सहमतिपछि पहिलो पटक पार्टीको बैठक बसिरहेको हो । दुई दिने बैठकले पार्टीको अबको कार्यदिशा जारी गर्दैछ ।
आइतबार बैठकमा सहभागी परिषद् सदस्यले राउतले सरकारसँग गरेको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन जनाएका थिए । सोमबार बैठक सम्पन्न हुनुअघि पार्टीको प्रस्ताव हुँदैछ। पार्टीको रुपमा जाने विषय र आगामी कार्यदिशा के हुने भन्ने बारे छलफल हुनेछ ।
केन्द्रीय परिषदबाट त्यो प्रस्ताव पारित भएपछि मात्रै लागु हुनेछ। दुईदिने बैठकमा जनमत संग्रहको विषयमा कुनै चर्चा भने नभएको बताइएको छ ।
बैठकमा २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन् । पार्टीले सदस्यहरुलाई नागरिकता लिएर आउन आग्रह गरेको थियो।
एकातिर यो पार्टी मुलधारको राजनीतिमा आउँदैन भनिएको छ भने अर्कातिर निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा सदस्यको नागरिकता नम्बर चाहिने भएकाले यस्तो गरेको हुनसक्ने पनि आँकलन गरिएको छ ।
बैठकस्थल निकै सुरक्षित राखिएको छ । सदस्यहरुलाई मोबाइलसमेत लैजान दिइएको छैन । सरकारसंग भएको सहमतिपछि फेसबुकबाट जनमत संग्रह गराउन सरकार तयार भएको बाहेक सिक राउतले कहीं कतै केही बोलेका छैनन् ।
बैठक सकिएपछि बोल्ने सम्भावना छ । स्वतन्त्र मधेश गठबन्धनका अभियन्ता राउतले लिने निर्णयपछि मात्र सरकारले पनि कुनै कदम चाल्ने बताइन्छ ।
सरकारले राउतसंग गरेको सहमतिपछि शंका उपशंका उब्जिरहेको छ ।