नेपालका विमानलाई युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह
प्रकाशित २०७५ चैत ३ आइतबार
784
Shares
काठमाडौँ । नेपालका विमानलाई युरोपको आकाशमा उडाउन लगाइएको प्रतिबन्ध हटाउन सरकारले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले युरोपेली सङ्घका एक जना वरिष्ठ अधिकारीसँग आज त्यस्तो अनुरोध गरेका हुन् ।
मन्त्री ज्ञवालीले नेपालको भ्रमणमा रहनुभएकी युरोपेली सङ्घको एशिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी उपप्रबन्ध निर्देशक पाओला पाम्पाओलिनीसँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपालले नागरिक उड्डयन सुरक्षाका कुनै पनि विषयमा सम्झौता नगरेको र त्यसप्रति अति संवेदनशील रहेको बताए।
नेपालको विकासको भरपर्दो साझेदार युरोपेली सङ्घलाई कृषि, पर्यटन, ऊर्जाका क्षेत्रमा लगानी गर्न सङ्घका सदस्य देशका लगानीकर्तालाई आह्वान गर्दै मन्त्री ज्ञवालीले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा अधिकाधिक युरोपेली उद्यमी–व्यवसायीलाई सहभागिताका निम्ति अभिप्रेरित गर्न आग्रह गरे ।