arrow

ओली सरकारले भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्रलाई नै खतरामा पार्‍यो – लेखक

logo
प्रकाशित २०७५ चैत ३ आइतबार
ramesh-lekhak.jpeg

बैतडी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा पर्न थालेको बताएका छन् ।

बैतडीको सिगास गाँजरीमा शनिबार नेपाली कांग्रेस बैतडीले आयोजना गरेको कार्यक्रममा नेता लेखकले प्रधानमन्त्री ओलीले आफू शक्तिशाली हुने तर प्रदेश सरकारलाई अधिकारविहीन बनाएर संघियतालाई नै असुरक्षित बनाएको बताए ।

ओली सरकार इतिहासकै भ्रष्ट सरकार भएको दावी गर्दै भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्रलाई नै खतरामा पारेको आरोप लगाए । लेखकले भने, ‘ यो सरकार काममा भन्दा नारामा मात्र सिमिति छ । त्यसैले जनता दिनप्रतिदिन निरास भइरहेका छन् ।’ 

देशको शान्ति सुरक्षा हरेक दिन बिग्रदै गइरहेको बताउँदै नेता लेखकले सरकारले सिके राउतलाई अंगालो हाल्ने तर विप्लव समूहलाई प्रतिवन्ध लगाउने काम देशको हितमा नभएको बताए । 

बिप्लव समूहलाई बार्तामा बोलाएर राजनीतिक समस्याको समाधान खोल्नु पर्नेमा जोड दिँदै लेखकले विप्लव समूहले पनि शान्तिपूर्ण वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नु पर्ने बताए ।  

कार्यक्रममा नेपाली कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्रसिह थापाले कम्युनिष्ट सरकारका गतिविधिबाट जनता एक वर्षमै वाक्क दिक्क भइसकेको बताउँदै जनताले यो सरकारबाट मुक्ति खोजेको दावी गरे । 

पूर्व राज्यमन्त्री नरबहादुर चन्द, पूर्व जिल्ला सभापति शिवराज भट्ट, महासमिति सदस्य चतुरबहादुर चन्द र लोकराज अवस्थीले कम्युनिस्ट सरकारले जनतालाई आश्वासन र सपनामात्र बाढ्ने तर काम केही नगर्ने प्रवृतिका कारण जनता पश्चाताप गर्न थालेको बताउँदै नेपाली कांग्रेसले संगठन बिस्तार र जनताको पक्षमा काम गर्न लाग्नु पर्नेमा जोड दिएका थिए । 

सुदूरपश्चिमको अछाममा विभिन्न कार्यक्रम सम्पन्न गरेर नेता लेखक बैतडी पुगेका हुन् । नेता लेखक बैतडीकै १० वटै स्थानिय निकायमा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ