नेपालमा प्रत्येक बर्ष ३ हजारको मिर्गौला फेलः बार्षिक २ अर्ब ११ करोड भन्दा बढी रकम प्रत्यारोपण तथा डायलासिसमा खर्च
प्रकाशित २०७५ फागुन ३० बिहिबार
248
Shares
काठमाडौं। नेपालमा प्रत्येक बर्ष ३ हजारको मिर्गौला फेल हुने गरेको छ। प्रत्येक १० मध्ये एक जनामा कुनै न कुनै प्रकारको मिर्गौला सम्बन्धी रोग भएको पाइएको छ। यो रोगको कुनै लक्षण देखिदैन। दुवै मिर्गौला लगभग ६० प्रतिशत खराब भएपछि मात्र रगतमा क्रिएटिनिन बन्न शुरू हुने मिर्गौला बिशेषज्ञहरुको भनाइ छ। सामान्यतया मिर्गौलाले यसलाई छानेर शरीरबाट बाहिर निकाल्छ र त्यसैमा समस्या हुँदा मिर्गौलाले छान्न पाउँदैन र यसैले गर्दा रगतमा यसको स्तर बढ्छ । चालीस वर्षको उमेरपछि हरेक वर्ष एक प्रतिशतको दरले मिर्गौला कमजोर हुन थाल्छ ।
संसारभरि मिर्गौलाको रोगबाट पीडित व्यक्तिहरूको संख्या बढिरहेको छ । चिकित्सा विज्ञानमा यसलाई क्रोनिक किड्नी डिजीज भनिन्छ । यस रोगका सम्बन्धमा मानिसहरूमा जनचेतना फैलाउनका लागि मार्च महीनाको दोस्रो बिहीवार विश्व मिर्गौला दिवस मनाइने गरेको हो।
संसारमा ८५ करोड मानिसहरू मिर्गौला रोगबाट पीडित छन् । बर्षेनी २४ लाख मानिस दिर्घकालीन मिर्गौला रोगबाट आक्रान्त हुने गरेको छ । यो रोग मानब मृत्युको प्रमुख छैटौ कारकका रुपमा रहेको छ ।बर्षेनी बिश्वमा १७ लाखले ज्यान गुमाइहेका छन। मिर्गौला रोगले मुटु, मधुमेह,उच्च रक्तचाप,मोटोपन, एचआइभि, मलेरीया ,क्षयरोग र कलेजोरोग लगायतका दिर्घरोग लागेका लाई बढी हानी पुरयाउने गरेको छ ।
केही अध्ययनहरूका अनुसार, महिलाहरूमा पुरुषको तुलनामा गम्भीर मिर्गौला समस्या धेरै भेटिने गरेको छ । दुवैको औसत निकाल्दा महिलामा मिर्गौलाको गम्भीर रोग समस्या १४ प्रतिशत हुन्छ भने पुरुषमा १२ प्रतिशत हुने गरेको तथ्यांक छ । त्यसैले सरकारले मिर्गौला दान दिने महिलाको तुलनामा पुरुषको संख्या बढाउन बिभिन्न कार्यक्रम ल्याएको छ ।
पिसाब रोक्ने, कम पानी पिउने ,धेर नूनिलो कुरा खाने,उच्च रक्तचापको उपचारमा लापरवाही, चिनीरोगको उपचारमा लापरवाही, धेर मासु खाने,धेरै पेनकिलर लिने, धेरै रक्सी र चुरोट पिउने, पर्याप्त आराम नगर्ने, हल्का पेय र सोडा धेरै पिउनेलाई पनि मिर्गौला खराब गराउन सक्ने मिर्गौला बिशेषज्ञहरुले बताउने गर्छन ।
मिर्गौला रोगको शुरुवाती चरणमा कुनै लक्षण नदेखिने र अन्तिम अवस्थामा मात्रै बिभिन्न लक्षण देखिने भएकाले बर्षको एकपटक परीक्षण गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । बर्षमा एकपटक नियमित रुपमा पिसाब , रगत साथै रगतमा बोसोको मात्रा परीक्षण गर्नुपर्ने शिक्षण अस्पतालका नेफ्रोलोजी बिभागका प्रमुख डा दिब्या सिंह साहले बताए ।
उपचार महंगो मानिने मिर्गौला रोग परीक्षण गर्न १ सय रुपैयाँ पनि नलाग्ने भएकोले बेलैमा परीक्षण गर्न डाक्टरहरु सुझाव दिन्छन ।
मिर्गौला रोग लाग्नबाट जोगिन प्रशस्त पानी पीउन, धुमपान(मध्यपान नगर्न, शारिरिक व्यायाम गर्न र खानपानमा ध्यान दिनुपर्ने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा कलेजो मिर्गोला प्रत्यारोपणबिद डा. पुकारचन्द्र श्रेष्ठले सुझाव दिए।
बार्षिक २ अर्ब ११ करोड भन्दा बढी रकम प्रत्यारोपण तथा डायलासिसमा खर्च
सरकारले मिर्गौला रोगको उपचारका लागि विपन्न नागरिकलाई निःशुल्क डायलासिस र प्रत्यारोपणमा सरकारले अनुदान दिने गरेको छ । हाल करीब ४५ सयले डायलासिस सेवा लिइरहेको तथ्यांक छ। अहिलेसम्म नेपालमा १३ सय जनाले डालयासिस सेवा लिइसकेका छन । यो सेवा सरकारी अस्पताल सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र शिक्षण अस्पतालले प्रदान गर्दै आएको छ भने निजीमा ग्राण्डी अस्पतालले पनि सुरु गरेको छ । नेपाल सरकारले बार्षिक २ अर्ब ११ करोड भन्दा बढी रकम प्रत्यारोपण तथा डायलासिसमा खर्च गर्ने गरेको छ ।
बिश्व मिर्गौला दिवस मनाइदै
मिर्गौला स्वास्थ्य : जहासुकै जोसुकैका लागि , नाराका साथ बिश्व मिर्गौला दिवस मनाइदैछ
बिश्वभर तिब्र गतिमा बढेको मिर्गौला रोगको भार व्यवस्थित गराउने रणनिति निर्माणमा सबैलाई सचेत गराउन जहासुकै जोसुकैका लागि नाराका साथ यो दिवस मनाइदैछ। विश्व मृगौला दिवशको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन।
शिक्षण अस्पतालले पनि प्रधानमन्त्री केपी ओली लगायतको सहभागितामा दिवस मनाएको हो । मिर्गौला प्रत्यारोपण गरेकाले पनि सामान्य जीवन यापन गर्न सक्छ भन्ने उद्धेश्यका साथ मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्रीलाई कार्यक्रममा सहभागि गराइएको थियो ।
कार्यक्रमका आयोजकसँगै पैदल यात्रा गरेर प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिनुपर्ने बताए ।
यसैगरी,विश्व मृगौला दिवसका अवसरमा भक्तपुर दुधपाटी स्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १० औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता गर्दैछ । शैनिक आवाशिय महाविद्यालयको चौरमा मिर्गौला प्रत्यारोपण गरेका विरामी र चिकित्सक, कलाकार, पत्रकार तथा अन्य विशिष्ठ व्यक्तिहरु बीच मैत्रीपूर्ण खेलकूदको आयोजना गरी १० औं नेपाल प्रत्यारोपण खेलकुद प्रतियोगिता मनाइदैछ।