भारतले दुई सय नेपाली विद्यार्थीहरुलाई दियो छात्रवृत्ति
प्रकाशित २०७५ फागुन २९ बुधबार
843
Shares
काठमाडौं। काठमाडौं स्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययनलाई अघि बढाउन ठुलो संख्यामा छात्रवृत्ति प्रदान गरेको छ। दूतावासले जेहेन्दार दुईसय नेपाली विद्यार्थीहरुलाई शैक्षिक सत्र २०१८/२०१९ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको हो।
यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीहरुलाई स्नातकका ३६ वटा कोर्षका लागि छात्रवृत्ति प्रदान गरेको दुतावासद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ। यी विद्यार्थीहरु मध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपाङ्ग समेत रहेको बताइएको छ।
होटेल हायात रिजेन्सीमा आयोजित स्वर्ण जयन्ति छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले २०० विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरेका थिए। नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई दिदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलताको कामना समेत गरेका थिए। उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने बिश्वास समेत ब्यक्त गरे।
सन् २००२ मा भारत सरकारले “भारत–नेपाल आर्थिक सहकार्य”को ५० वर्ष पुरा भएको अवसरमा यस प्रतिष्ठित स्वर्ण जयन्ति छात्रवृत्तिको सुरुवात गरेको थियो। यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करण अन्तर्गत ५० जेहेन्दार नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भइ १०० पुगेको थियो। सन् २०१२ देखि यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर २०० भएको छ। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत एमबिबिएस/बिडिएसका विद्यार्थीले पाँच वर्ष सम्म प्रति महिना नेरु चार हजार, बिइको विद्यार्थीले चार वर्षसम्म प्रति महिना नेरु चार हजार र अन्य स्नातक कोर्ष अध्ययन गर्ने विद्यार्थीले तीन वर्ष सम्म प्रति महिना नेरु तीन हजार प्राप्त गर्ने बताइएको छ। हालसम्म नेपालका ७७ जिल्लका २३५० भन्दा बढी नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रवृत्ति प्रदान गरिसकिएको दुतावासले जनाएको छ।
नेपाल तथा भारतका विश्वविद्यालय तथा कलेजमा चिकित्सा, विज्ञान, पशु विज्ञान, औषधि विज्ञान, दन्त विज्ञान, कृषि, इन्जिनियरिङ्ग, कला, कमर्स, विज्ञान, कम्प्युटर विज्ञान, नर्सिङ तथा अन्य विभिन्न विषयका अध्ययनका लागि भारत सरकारले कूल ३००० छात्रवृत्ति प्रदान गर्ने बताइएको छ।