इथोपियन एयरलाइन्समा ज्यान गुमाउने को हुन एकता अधिकारी?
प्रकाशित २०७५ फागुन २६ आइतबार
473
Shares
काठमाडौं। १५७ जनाको ज्यान जाने गरि भएको दुर्घटना भएको इथोपियन एयरलाइन्समा ज्यान गुमाउने नेपाली नागरिक एकता अधिकारी रहेको पुष्टि भएको छ ।
अधिकारी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत् थिइन् ।
नेपालको गोर्खा मूल घर भएकी अधिकारी आइतबार नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै थिइन् ।
एकता सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न सेप्टेम्बर २०१८ मा मात्र इथियोपिया पुगेकी थिइन् । डिसेम्बरदेखि भने उनले सप्लाई चेन अफिसरको नयाँ जिम्मेवारी सम्हालेकी थिइन् ।
पपुआ न्यू गिनी र नेपाल कार्यालय गरि एकताले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।
गोरखाकी उनले बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् ।
नेपालकी अधिकारी सहित ३६ देशका १५७ जनाको दुर्घटनामा ज्यान गएको हो।
इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन् ।
इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोडकास्टिङ कर्पोरेटले विमानमा रहेका सबै जनाको मृत्यु भएको जनाएको हो ।
इथियोपियाली विमान कम्पनीको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट विहान ८ः३८ मा उडेको र उडेको छ मिनेटपछि नै विमानको टावरसँग सम्पर्क विच्छेद भएको विमान कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
विमान इथियोपियाको राजधानी अदिस अबाबाबाट ४५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित बोसोफ्टु शहर नजिकै दुर्घटनाग्रस्त भएको विज्ञप्तिमा जनाइएको छ ।