एउटै धरातलमा अवतरण भएका प्रचण्ड र सिके राउत, कसको बाटो सही ?
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
551
Shares
काठमाडौं । स्वतन्त्र मधेश गठबन्धनको नाममा तराईमा आन्दोलन गर्दै आएका सिके राउत शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत् अखण्ड नेपालको पक्षमा आएका छन् । सरकारसँग ११ बुँदे सम्झौता गर्दै उनी अब नेपालको संविधान अनुसार नै मूलधारको राजनीतिमा प्रवेश गरेका हुन् ।
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र राउतबीच उनले भूमिगत युद्ध छाड्ने र मूलधारको राजनीतिमा प्रवेश गर्ने सम्बन्धी सैद्धान्तिक सहमति गरिएको छ । उनले सम्झौता पछिको सम्बोधनमा आफू बुद्ध र गान्धीलाई आदर्श मान्ने व्यक्ति भएकोले प्रहरीले लाठी चार्ज गर्दा पनि फूल दिएर शान्तिको कामना गरेको बताएका छन् । आन्दोलनमा रहेका आफूहरुले हिंसा चाहेको भए राज्यले पनि दमन गर्नखोज्ने भन्दै उनले आफू शान्तिप्रिय भएकोले सरकारले पनि त्यतिधेरै दमन नगरेको बताएका छन् ।
सभागृहमा आयोजना गरेको कार्यक्रमबाट नै अब सिके राउत मूलधारको राजनीतिमा स्थापित हुने देखिएको छ । अध्ययनको हिसाव र पेशाले इन्जिनियर र बैज्ञानिक समेत रहेको उनलाई सभागृहको कार्यक्रममा दिईएको सम्मानले पनि मूलधारको राजनीतिमा उनको प्रवेश शानदार रुपमा नै हुने देखिएको हो ।
शुक्रबारको कार्यक्रममा केन्द्र सरकारका मन्त्रीहरु पछिल्लो कोरममा बसेका थिए भने अघिल्लो कोरममा राउत सहित प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड बसेका थिए । यसले पनि उनलाई दिईएको सम्मानबारे राम्रैसँग बुझ्न सकिन्छ । सो सभालाई राउत र प्रधामन्त्री ओलीले सम्बोधन गरे । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई पुष्पकमल दाहाल प्रचण्ड जस्तै निर्णय क्षमता भएका नेताको संज्ञा दिएका छन् ।
अवश्य पनि पूर्व प्रधानमन्त्री समेत भईसकेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सिके राउतको राजनीतिक अवतरण समान धरातलमा भएको छ । १० वर्षसम्म सशस्त्र युद्ध गरेर सत्तामा आएका प्रचण्डको नेतृत्वको विद्रोमा १७ हजार मानिस मारिए । तर, झण्डै ८ वर्ष तराईमा भूमिगत आन्दोलन गरेका राउतको आन्दोलनमा एकाधबाहेक धेरै मानिस मारिएनन् । उनको पनि अहिले शान्तिपूर्ण रुपमा अवतरण भएको छ ।
यसरी एउटै धरातलमा अवतरण भएका दुई नेताहरुको पृष्ठभूमि हेर्दा पुष्पकमल दाहालको बाटो ठीक कि सिके राउतको अवतरण ठीक ? भन्ने प्रश्न पनि उब्जिएको छ । अहिले पनि प्रचण्डको नेतृत्वमा भएको द्वन्द्वका पीडितहरुको घाउ विसेक भईसकेको छैन । तर, प्रचण्ड सत्तामा आईसकेपछि फरक धारबाट राजनीतिमा प्रवेश गरेका राउतले पनि प्रचण्डको समान मञ्चमा सम्मान पाउँछन् त्यो पनि शान्तिपूर्ण बाटोबाट भने ती दुई मध्ये कुन बाटोलाई सही मान्ने ? यो भने भोलिका दिनमा नेपाली जनताले पनि स्वतन्त्र विश्लेषण गर्दैजानेछन् । तर, अब सिके राउतले गर्ने राजनीतिक व्यवहारको आधारमा उनको उचाईको पनि टिप्पणी गर्न सक्ने अवस्था देखिन्छ ।